अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

अनुष आचार्यको मोबाइल फिल्म “रात १३” पहिलो स्थानमा

बिआरटीनेपाल २०७५ वैशाख २८ गते ८:१० मा प्रकाशित

काठमाडौँ, पहिले चलचित्र निर्देशकले मात्र चलचित्र बनाउन सक्छन् भन्ने मान्यता थियो । चलचित्र छायाङ्कन गर्ने काम व्यावसायिक व्यक्तिले मात्र गर्थे । मोबाइल फोनको आविष्कारसँगै अहिले त्यो मान्यता हराउँदै गएको छ । अमेरिकामा सर्वप्रथम सन् २०१५ मा मोबाइल फोनमार्फत दृश्य खिंचेर प्रतिस्पर्धा हुन थालेपछि नेपालकी सम्पदा मल्लले पनि नेपालमा त्यसको सम्भाव्यता परिकल्पना गर्नुभयो ।

मल्लको परिकल्पनालाई सर्वनाम थिएटरले पूरा गरिदिएको छ । ‘दृश्यांश’ नाम दिएर विसं २०७४ देखि उहाँले खुला प्रतिस्पर्धाको आयोजना गर्नुभयो । “पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करणमा ६०० वटा फिल्मलाई सङ्कलन गराइयो”, मल्लले भन्नुभयो ।

चलचित्रमा नेपालका विकटदेखि विश्वका विकसित ठाउँबाट समेत चलचित्र सामेल गरिएको उहाँले बताउनुभयो । ‘दृश्यांश’ आगामी दिनमा विश्वस्तरमा प्रतिस्पर्धा गर्ने योजनामा सर्वनाम थिएटर छ । कला र सिर्जना सबैसँग हुन सक्छ भन्ने मान्यताका साथ थिएटरले नवप्रतिभालाई खुलारुपमा स्थान दिँदै आएको छ । साथै थिएटरले थोरै मूल्यमा पनि फिल्म र प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने मान्यतालाई समेत आत्मसात् गर्दै आएको छ ।

सुरुमा ६०० मोबाइलबाट खिंचिएका दृश्यलाई सहभागी गराएको थिएटरले अन्तिम दशलाई छनोट गर्‍यो । प्रसिद्ध कलाकारबाट छनोट गराइएका ती चलचित्रलाई पुरस्कारसमेत घोषणा गरियो ।

छनोटमा प्रमुख भूमिका निर्वाह गर्ने कलाकार तथा निर्माता निश्चल बस्नेत भन्नुहुन्छ, “फिल्म कसैलाई मन पर्ने र नपर्ने हुने खालका हुन्छन्, एकलाई मन परेको अर्कोलाई मन नपर्न सक्छन् ।” एक जनाले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्नु सबैभन्दा ठुलो भएको उहाँ बताउनुहुन्छ । सबैलाई अवसर दिन सके मात्र कोसँग कस्तो खुबी छ थाहा हुने उहाँको भनाइ छ ।

सर्वनाम थिएटरका प्रमुख अशेष मल्ल कलाकर्मीलाई सधैँ सम्मान गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । सम्पदाको परिकल्पना राम्रो लागेपछि त्यसलाई पूरा गर्न थिएटरले साथ दिएको उहाँले जानकारी दिनुभयो । 

थिएटरले प्रतिस्पर्धामा जित्ने १० प्रतियोगीलाई सम्मान तथा पुरस्कृत गर्‍यो जसमा ‘रात १३’ पहिलो स्थान पाउन सफल भयो । अनुष आचार्यबाट निर्देशित दुई मिनेटको उक्त मोबाइल फिल्ममा श्रीमान् बाहिर गएकाका श्रीमती कसरी परपुरुषसँग अनैतिक सम्बन्ध गाँस्न पुग्छन् र अन्त्यमा उनीहरूको हत्या हुन्छ भन्ने कथा देखाइएको छ ।

चलचित्र निर्माणको समूहलाई थिएटरले रु ७५ हजारसहित सम्मान गरेको थियो । त्यस्तै दोस्रो हुने आदित्य शर्माको ‘ढलपल’लाई सामसुङको आइप्याड सहित तथा तेस्रो हुने ‘द इन्टरभ्यू’ को समूहलाई आइप्याडसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया