अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४२ | Colorodo: 17:57

अमेरिकाको ह्युस्टनमा बुद्ध जयन्ती सम्पन्न

बिआरटीनेपाल २०७५ वैशाख १९ गते १०:२९ मा प्रकाशित

अप्रिल २९, ह्युस्टन टेक्सस । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) ह्युस्टन च्याप्टरले बुद्ध जयन्ती विविध कार्यक्रम गरेर भव्यताका साथ मनाएको छ |

सहरको बिचमा रहेको अर्थर स्टोरी पार्कमा भएको कार्यक्रममा नेपाली साहित्यकार, अ ने सा स ह्युस्टनकी निबर्तमान अध्यक्ष गङ्गा लिगलका पति समाजसेवी स्वर्गीय जनक प्रसाद लिगलको सम्मानमा श्रद्धाञ्जली सभा समेत आयोजना गरिएको थियो।

संस्थाका अध्यक्ष शेष शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा बुद्धको जीवनीमा प्रकाश पार्नुका साथै साहित्य-कलानुरागीहरूबाट आफ्ना कला तथा सृजना प्रस्तुत गरिएका थिए । स्वर्गीय लिगलको जीवनी र उहाँले नेपाली साहित्यको श्री वृद्धिमा पुर्‍याउनु भएको योगदानबारे उक्त संस्थाका अध्यक्ष शर्माले मन्तव्य राख्नु भएको थियो। साथै अग्रज साहित्यकार एवं संस्थाका उपाध्यक्ष कमल मणि पन्थी र इतिहासकार डा. विजय मानन्धरले गौतम बुद्धको जीवनीबारे मन्तव्य राख्नुभयो।

उषा पन्थी, सतिश त्रिपाठी, निलहरि आचार्य, अमृत लामिछाने, अमृत कंडेल, बिदुर दवाडी र मोदनाथ सदाले जोडदार रूपमा आ-आफ्ना कविता/गजल प्रस्तुत गर्नु भएको थियो भने वासु पौडेल र सुष्मा रेग्मी बास्तोलाले नृत्य प्रस्तृत गर्नु भएको थियो। अङ्ग्रेजी बोल्ने कलिला नानीहरू – प्रशम लुइँटेल, ईप्सित आचार्य, प्रोमिथस त्रिपाठी, पृथक् त्रिपाठी, विभुस अर्याल – को मुखबाट “फुलको आँखामा फुलै संसार …….” बोलको गीत गाउँदा कार्यक्रममा छुट्टै रौनक छाएको थियो ।

संस्थाले आगामी दिनहरूमा पनि विभिन्न अवसर पारेर नेपाली कला – साहित्यको विकासमा सक्दो टेवा पुर्याउंदै लैजाने अठोट सुनाउँदै संस्थाका महासचिव साधना शर्माले कार्यक्रम समापन गर्नु भयो।

प्रतिक्रिया