अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१४ | Colorodo: 08:29

नेपाल राष्ट्र बैङ्कले मोबाइलमार्फत एक पटकमा भुक्तानी गर्दा ५ हजार रुपैयाँ सम्म र अधिकतम एक दिनमा १० हजारसम्म

बिआरटीनेपाल २०७५ वैशाख ३ गते २०:१६ मा प्रकाशित

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मोबाइल बैंकिगमार्फत हुने भुक्तानीको सीमा तोकेको छ । राष्ट्र बैङ्कले आइतबार एक निर्देशन जारी गर्दै मोबाइल बैकिंगमार्फत एक पटकमा भुक्तानी गर्दा ५ हजार रुपैयाँसम्म र अधिकतम एक दिनमा १० हजारसम्म भुक्तानी गर्न पाइने नियम ल्याएको हो ।

राष्ट्र बैङ्कले विद्युतीय प्रणालीबाट गरिने कारोबार बारे निर्देशन जारी गर्दै एक महिनामा ५० हजारसम्म मात्र मोबाइल बैङ्किङमार्फत भुक्तानी गर्न पाइने सीमा तोकेको हो ।

राष्ट्र बैङ्कको निर्देशनअनुसार इन्टरनेट बैङ्किङमार्फत भुक्तानी गर्दा दैनिक एक लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने छ भने मासिकरुपमा ५ लाख रुपैयाँसम्म मात्र कारोबार गर्न पाइने छ।

इन्टरनेट बैङ्किङमार्फत बैङ्क तथा वित्तीय संस्थाको खातामा नगद पठाउँदा अधिकतम १ लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँसम्म मात्र पठाउन सकिनेछ।

यसका साथमा भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको इवालेट, मोबाइल वालेट, डिजिटल वालेटहरुमा नगदै वा ट्रान्सफर गरी जम्मा गर्न सकिने व्यवस्था पनि राष्ट्र बैङ्कले गरेको छ।

एजेन्ट र सब एजेन्टद्धारा एक पटकमा अधिकतम ५ हजारसम्म, एक दिनमा १५ हजारसम्म र मासिक २५ हजार रुपैयाँसम्म जम्मा गर्न सकिने व्यवस्था गरेको छ।

बैङ्कमार्फत मोबाइल वालेटमा एक पटकमा कम्तीमा १०० र अधिकतम ५००० हजार रुपैयाँसम्म जम्मा गर्न पाइने छ। दैनिकरुपमा अधिकतम १५ हजार रुपैयाँसम्म मात्र जम्मा गर्न पाइने छ।

बैंकहरुमा रहेको खाताबाट भुक्तानी सेवा प्रदायक संस्थाहरूले सञ्चालन गरेको वालेटमा त्यही दिन भुक्तानी गर्ने प्रयोजनका लागि एक पटकमा ५० हजार रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने निर्देशनमा उल्लेख छ। तर मोबाइल वालेटमा २५ हजार रुपैयाँभन्दा बढी नगद राख्न पाइने छैन।

मोबाइल वालेटमा सीमा तोके पनि सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नु पर्ने कर, राजश्व, जरिवाना तथा दस्तदुरलगायतका शुल्कहरू बिल बमोजिमको भुक्तानी गर्न मिल्ने राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू