अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३४ | Colorodo: 04:49

सरकारको श्वेतपत्रमाथि काँग्रेसको २४ बुँदे टिप्पणी

बिआरटीनेपाल २०७४ चैत २६ गते २२:१६ मा प्रकाशित

काठमाडौँ,  सरकारले श्वेतपत्रमार्फत मुलुकको आर्थिक अवस्था नकारात्मक रूपमा प्रस्तुत गरेर जनतामा निराशा पैदा गरेको आरोप प्रमुख विपक्षी काँग्रेसले लगाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा श्वेतपत्र प्रस्तुत गरेको १० दिनपछि काँग्रेसले २४ बुँदे आधिकारिक प्रतिक्रिया दिएको हो । अर्थमन्त्री खतिवडाले १६ चैतमा संसद्मा ७४ बुँदे श्वेतपत्र पेस गरेका थिए ।

अर्थतन्त्रका सकारात्मक सबै पाटाबारे नजरअन्दाज गरेर अतिरञ्जित रूपमा श्वेतपत्र प्रस्तुत गर्दा जनतामा निराशा छाएको काँग्रेसको टिप्पणी छ । उसले सरकारको श्वेतपत्रलाई ‘लालपत्र’को सङ्ख्या दिएको छ । पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘आमनागरिकको आशा र जाँगर मार्ने सरकारको धारणा श्वेतपत्र नभई लालपत्र हो । काँग्रेसले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न भएपछि समृद्धिको दिशामा अघि बढ्न तुलनात्मक रूपले सहज राजनीतिक वातावरण निर्माण भएको जनाएको छ । 

तर, यस्तो वेला तथ्यलाई तोडमोड गरेर श्वेतपत्रका नाममा निराशाको ‘लालपत्र’ बाहिर ल्याउनुभन्दा नयाँ भिजन भरिएको दृढ संकल्पपत्र अघि सारिनुपथ्र्यो,’ प्रवक्ता शर्माद्वारा हस्ताक्षरित धारणापत्रमा भनिएको छ । काँग्रेसले श्वेतपत्रलाई ‘अबौद्धिक र अव्यावसायिक मुचुल्का’ भनेको छ । ‘नैतिक इमानदारीभन्दा पर गएर संगतिरहित सन्दर्भहरू गाँसेर असन्तुलित रूपमा तथ्याङ्कहरू श्वेतपत्रमा जो प्रस्तुत भएको छ, त्यसलाई अबौद्धिक र अव्यावसायिक मुचुल्का ठहर गर्नुपर्ने प्रारम्भिक स्थिति बन्दछ,’ धारणामा भनिएको छ ।

प्रवक्ता शर्माले अर्थतन्त्रलाई नकारात्मक देखाउन आफूअनुकुल तथ्यलाई समेटेर सरकारले अतिरञ्जनापूर्ण अभिव्यक्ति ल्याएको बताए । ‘श्वेतपत्र निश्चित कालखण्डको छायाचित्रका रूपमा इमानदार ढङ्गले प्रस्तुत भएको छैन ।

कुन निश्चित कालखण्डको तथ्याङ्क र चित्र प्रस्तुत गर्दा बढी नकारात्मक सम्प्रेषण गर्न सकिन्छ भन्ने मनसायले प्रेरित देखिन्छ । कहीँ दुई वर्षको चित्र छ त कतै अढाई दशकको, कुनै सन्दर्भमा १० वर्षको मूल्याङ्कन छ त कहीँ पाँच वर्षको टिपोट गाँसिएको छ,’ शर्माले भने ।

आर्थिक उपलब्धि स्विकारिएन
अहिलेको सरकारले राज्यले हालसम्म गरेको आर्थिक उपलब्धिलाई स्विकार्ने राजनीतिक चरित्र देखाउन नसकेको काँग्रेसको टिप्पणी छ । समृद्धिको यात्रा शून्यबाट सुरु गरेको देखाउन सरकारले अनेक भ्रम स्थापित गर्न खोजेको आरोप छ ।

‘राज्यले हालसम्म गरेका समस्त आर्थिक उपलब्धिलाई नकार्दै शून्यबाट समृद्धिको सुरुवात गर्न लागेको भ्रम स्थापित गर्न खोजिरहेको छ,’ शर्माले भने, ‘बरासितमा धराशायी अर्थतन्त्र काँग्रेसले छोडेको थियो र हामीले सम्हाल्यौँ भन्ने भोलिको चुनावी एजेन्डा स्थापित गर्ने मनोविज्ञानको जगमा श्वेतपत्र आएको छ ।’

बितेका २५ वर्षमा काँग्रेसको अर्थनीतिका कारण ६२ गुणाले राजस्व वृद्धि भएको स्विकार्न श्वेतपत्रमा कन्जुस्याइँ गरिएको उनले बताए । ‘पञ्चायती व्यवस्थाले जाँदै गर्दा हाम्रो हातमा १२ अर्बको राजस्व छाडेको थियो, आज सात सय अर्बमाथिको आकार बढेको तथ्यलाई भुल्न मिल्दैन,’ काँग्रेसको धारणा छ ।

सरकारले मुलुकको ढुकुटी रित्तो रहेको बताएर झुटो प्रचार गरेको पनि उसको आरोप छ । ‘पुँजीगत बजेट खर्च हुन नसकेको भन्ने अर्थमन्त्रीकै भनाइले ढुकुटीमा मौज्दात रहेको स्पष्ट छ,’ काँग्रेसको तर्क छ । दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकको आकाङ्क्षालाई सम्भव तुल्याउन अनुकूल वातावरण सरकार र अर्थमन्त्रीलाई रहेको तथ्य पनि श्वेतपत्रमा लुकाउन खोजिएको शर्माले बताए ।

काँग्रेसले लगभग ६ प्रतिशत आर्थिक वृद्धि हुन लागेको पनि जनाएको छ । ‘अनेकन् प्रतिकूलताबीच अहिलेको यो वृद्धिदरलाई निराशाजनक भन्न किमार्थ मिल्दैन । ०४६ को परिवर्तनपछि काँग्रेसको नेतृत्वमा उच्च आर्थिक दरपछि कुनै पनि अर्थमन्त्रीले यस्तो वृद्धिदर प्राप्त गरेका थिएनन् भन्ने सत्यतथ्यलाई उत्साहपूर्वक आत्मसात् गरेर अबको लक्ष्य र कार्यक्रम दुई अङ्कको आर्थिक वृद्धिदरतर्फ केन्द्रित गर्नतर्फ लाग्नु जिम्मेवार कदम हुन्थ्यो,’ काँग्रेसले भनेको छ ।

तर, सत्यलाई लुकाएर ‘निराशापत्र’को निर्माण र प्रस्तुतिले ‘अमूल्य समयको व्यर्थको व्यय’ हुन पुगेको उसको ठहर छ ।

लगानीमैत्री वातावरण छैन भन्नु झुट
श्वेतपत्रमा अन्तर्राष्ट्रिय परिदृश्यमा नेपालमा लगानी वातावरण उत्साहजनक छैन भनेर सरकारले सरासर झुट बोलेको पनि काँग्रेसको भनाइ छ । श्वेतपत्रमा विश्वबैंकबाट प्रकाशित ‘डुइङ बिजनेस इन्डेक्स’मा नेपाल १०५औँ स्थानमा रहेको स्मरण पनि काँग्रेसले गराएको छ ।

उसले अघिल्लो वर्षको भन्दा चालू आर्थिक वर्षको ६ महिनामा आएको लगानी बढी भएको पनि बताएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचीमा १२२औँ स्थानमा हुँदा सरकारले गत वर्ष १३१औँ स्थानमा रहेको तथ्य लुकाएको पनि काँग्रेसको आरोप छ ।

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भने श्वेतपत्रमा उल्लेख गरेको अवस्थाविपरीत नेपालमा लगानीको वातावरण राम्रो रहेको बताउँदै लगानीका लागि निमन्त्रण गरेको प्रवक्ता शर्माले बताए ।

काँग्रेस नेतृत्वमा २५ वर्षमा उपलब्धि
काँग्रेसले आफ्नो नेतृत्वको सरकारका पालामा गरेका कामको तथ्याङ्क नै प्रस्तुत गरेको छ : विसं. २०४८ विंस. २०७३
१ गरिबीको रेखामुनि रहेका जनसङ्ख्याको प्रतिशत ४९ २१
२ साक्षरता (प्रतिशत), १५–२४ उमेर समूह ५० ९०
३ प्राथमिक विद्यालयमा खुद भर्नादर (प्रतिशत) ६४ ९७
४ माध्यमिक विद्यालयको सङ्ख्या १,९५९ ३,५९६
५ उच्च शिक्षामा महिला र पुरुषको अनुपात १ः३ १ः१
६ औसत आयु ५४ ७१
७ चिकित्सा र इन्जिनियरिङ विद्यार्थी सङ्ख्या (स्नातक तह) ५७९ ३७,१३०
८ स्वास्थ्यचौकीको सङ्ख्या १,०९८ ४,११६
९ शिशु मृत्युदर (प्रति १,००० जीवित जन्म) १०८ ३३
१० मातृ मृत्युदर (प्रति १ लाख जीवित जन्म) ८५० २५८
११ खानेपानीको सुविधा पुगेको जनसङ्ख्याको प्रतिशत ३६ ८४
१२ शौचालय र सरसफाइ पुगेको जनसङ्ख्याको प्रतिशत ६ ८१
१३ ऊर्जा शक्ति २२७ मे.वा. ८५१ मे.वा. (अर्को २ वर्षमा २३००)
१४ विद्युत्मा पहुँच पुगेको जनसङ्ख्याको प्रतिशत ९ ७४
१५ सडक (सबै खालका) ७,३३० किमी ८१,३७१ किमी
१६ सडक (कालोपत्रे र ग्रावल) ४,६१६ किमी ३२,६३९ किमी
१७ सिँचाइ (हेक्टर) ५.४ लाख १४ लाख
१८ टेलिफोन ७१,५६० २७,८५०,००० (मोबाइल)
१९ बैङ्किङ तथा वित्तीय संस्थाहरूको सङ्ख्या ५ ११७
२० कुल गार्हस्थ उत्पानमा राजस्वको अनुपात (प्रतिशत) ९ २१
२१ बजेटमा विदेशी अनुदान र ऋणको अनुपात (प्रतिशत) ४५ १५
२२ वनले ढाकेको क्षेत्र (कुल क्षेत्रफलको प्रतिशत) ३७ ४५

प्रधानमन्त्रीको भारत भ्रमण सम्बन्ध सुधार्न
काँग्रेसले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण व्यक्तिगत सम्बन्ध सुर्धानका लागि मात्रै उपयोगी भएको टिप्पणी गरेको छ । नेपाल–भारत सम्बन्ध पुष्पकमल दाहाल र शेरबहादुर देउवा नेतृत्वको सरकारकै पालामा ट्र्याकमा आइसकेकाले अहिले सम्बन्ध सुधारेँ भन्नुको कुनै तुक नहुने काँग्रेसको भनाइ छ ।

पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले भने, ‘दुई देशको सम्बन्ध पहिल्यै राम्रो भइसकेको थियो । ओलीजीले आफ्ना व्यक्तिगत कुरालाई अहिले सल्टाउनुभयो होला ।’

ओलीको सत्ताबाहिर रहँदा सबैलाई नराम्रो देख्ने र सत्तामा पुगेपछि सबैलाई राम्रो देख्ने प्रवृत्तिका कारण वेला–वेलामा उनी आफैँ समस्यामा पर्ने र मुलुकलाई पनि समस्यामा पार्ने गरेको महतले बताए ।

रेल सम्झौताको स्वागत
प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भएका सम्झौताको स्वागत गर्दै काँग्रेसले कार्यान्वयनमा लैजान सरकारलाई सुझाएको छ । भारत भ्रमणका क्रममा भएको रक्सौल–काठमाडौँ रेल सम्झौता हुनु स्वागतयोग्य रहेको महतले बताए ।

‘प्रचण्डको भारत भ्रमणमा कृष्णनगरबाट लुम्बिनी हुँदै काठमाडौँ जोड्ने र रक्सौल हुँदै काठमाडौँ जोड्ने दुई रेलमार्गबारे भएका छलफललाई अहिले रक्सौल हुँदै काठमाडौँ जोड्ने रेलमार्गको निर्णयमा पुग्नु स्वागतयोग्य छ,’ महतले भने ।

नकारात्मक सूचक आउने चार तथ्य
काँग्रेसले नकारात्मक सूचक देखिनुमा चार तथ्य पनि प्रस्तुत गरेको छ । लामो समय राजनीतिक अस्थिरता, दशक लामो हिंसात्मक द्वन्द्व र त्यसले छाडेको दुष्परिणाम, चुनावकेन्द्रित बजेट तथा कम्युनिस्ट प्रवृत्तिका कारण आर्थिक सूचक नकारात्मक रहेको उसको तर्क छ ।

तर, सरकारले यी विषयलाई श्वेतपत्रमा लुकाएको काँग्रेसको आरोप छ । अर्थतन्त्रका नकारात्मक सन्दर्भलाई न्यून गर्दै लगेर समुन्नतिको दिशामा अघि बढ्न गहिरो छलफल र ऐक्यबद्ध साझा प्रयत्नबाट मात्रै सम्भव हुने पनि उसको सुझाव छ ।

अर्थतन्त्र बिग्रिनुमा कम्युनिस्ट जिम्मेवार
पछिल्लो १० वर्षमा अर्थतन्त्र सुधार हुन नसक्नुमा कम्युनिस्टहरू नै जिम्मेवार रहेको आरोप काँग्रेसको छ । १० वर्षमा १० वटा सरकार बन्दा काँग्रेसले दुई सरकारको मात्रै नेतृत्व गरेको बताउँदै उसले अर्थतन्त्र सुधार हुन नसक्नुमा कम्युनिस्ट नै जिम्मेवार रहेको दाबी गरेको छ ।

‘यो दशकमा अधिकांश समय सत्तामा गैरकांग्रेसी रहे, अर्थमन्त्री पनि कम्युनिस्ट नै भए,’ प्रवक्ता शर्माले भने, ‘अर्थतन्त्रमा जे–जति बेथिति भएका छन्, हाम्रो भागको दोषको अंश हामी लिन तयार छौँ । तर, दुईतिहाइ अंश भने कम्युनिस्ट दलहरूको भागमै पर्छ ।’ नयाँ पत्रीकाबाट 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू