अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

म जिम्मेवारी लिन्छुः जुकरवर्ग

बिआरटीनेपाल २०७४ चैत २२ गते ८:३२ मा प्रकाशित

फेसबुकका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक मार्क जुकरवर्गले प्रयोगकर्ताको सूचना चुहावट सम्बन्धमा पूर्ण रूपमा जिम्मेवारी लिने बताएका छन् ।

अमेरिकी संसद् कङ्ग्रेसमा सूचना चुहावटको विषयमा बयान दिने तयारी गरिरहँदा जुकरवर्गको यस्तो प्रतिक्रिया आएको हो । उनले अर्को साता कङ्ग्रेसमा बयान दिने छन् ।

प्रयोगकर्ताको व्यक्तिगत सूचना चुहिएको विवादका बाबजुद उनले आफु नै फेसबुकको उचित नेतृत्व भएको दाबी गरेका छन् । साथै उनले सूचना चुहिएको सम्बन्धमा फेसबुकका कुनै पनि कर्मचारीलाई कारबाही नगर्ने समेत बताएका छन् । ‘ यस (कर्मचारीलाई कारबाही गर्ने विषय) मा प्रश्न उठे पनि जिम्मेवारी पूर्ण रूपमा मेरो हो । सुरुवात मैले गरेँ । मैले चलाएँ । र यहाँ जे हुन्छ त्यसको जिम्मेवार पनि म हो,’ उनले भनेका छन्, ‘हामीले गरेको गल्तीमा कसैलाई कारबाही गर्ने पक्षमा छैन ।’ फेसबुकमा जुकरवर्गको १६ प्रतिशत शेयर छ भने ६० प्रतिशत भोट अधिकार छ । उनी कम्पनी सञ्चालक समितिका अध्यक्ष पनि हुन् । 

पटक पटक दबाब परेपछि मार्क जुकरबर्गले अमेरिकी संसद् कङ्ग्रेसमा उपस्थित भएर गवाही दिने निर्णय गरेका थिए । उनलाई सभासद्, सञ्चार माध्यम र जनताबाट गवाहीका लागि दबाब परेको थियो । उनले गवाही दिएसँगै गुगलका कार्यकारी निर्देशक सुन्दर पिचाइ र ट्वीटरका कार्यकारी निर्देशक ज्याक डोर्सीमाथि पनि गवाहीका लागि दबाब पुग्ने विश्वास गरिएको छ ।

सिनेट जुडिसियरी चेयरम्यान चक ग्रास्लीले सूचनाको गोपनीयता सम्बन्धी संसदीय सुनवाइमा सहभागी हुन यी तिन जानै प्रमुख कार्यकारी निर्देशकलाई औपचारिक रूपमा निम्तो गरिसकेका छन् । संसदीय सुनवाइको अभ्याससँगै वासिङ्टन ठुला प्रविधि कम्पनीको परीक्षणस्थल बन्ने विश्वास गरिएको छ । उता लन्डनमा भने बेलायती संसद्मा बयान दिन फेसबुक प्रमुख जुकरवर्ग नभएर उनका दुई सहयोगी जाने तय भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध भएको क्याम्ब्रिज एनलाइटिका नामक सूचनासम्बन्धी काम गर्ने संस्थाले सन् २०१६ को राष्ट्रपतिय चुनावी अभियानका क्रममा ५ करोड फेसबुक प्रयोगकर्ताको सूचना उनीहरूको जानकारी बेगर लिएको सार्वजनिक भएपछि फेसबुक विवादमा तानिएको हो । यससँगै फेसबुकको व्यवसाय प्रयोगकर्ताको सूचना दुरुपयोग भएको आरोप छ । फेसबुकले प्रयोगकर्ताको सूचना अ्याप डेभलपर र विज्ञापनदातालाई बेचेर पैसा कमाइरहेको यो काण्डले देखाएको छ ।
पछिल्लो पटक ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको सूचना चुहिएको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ ।

प्रतिक्रिया