अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६ | Colorodo: 07:51

भन्सारमा बेथिति : कतै दरबन्दीभन्दा बढी, कतै कर्मचारी नै छैनन्  

बिआरटीनेपाल २०७४ चैत २० गते १९:५८ मा प्रकाशित

काठमाडौं,चैत्र २१ : सरकारले स्थानीय तह र प्रदेशमा कर्मचारी खटाउन सकिरहेको छैन । सरुवा गरिएका कर्मचारी काममा गएका छैनन् । तर, भन्सार कार्यालयमा भने दरबन्दीभन्दा बढी कर्मचारी थुप्रिएका छन् । सामान्य प्रशासन मन्त्रालय, मन्त्री, सचिव र ट्रेड युनियनको दबाबका कारण भन्सारमा दरबन्दीभन्दा बढी कर्मचारी खटाउने गरिएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ ।

करछली, कमिसनजस्ता गैरकानुनी धन्दाबाट आर्थिक लाभ लिन सकिने भएकाले कर्मचारीहरू पहुँचका आधारमा भन्सार कार्यालयमा जाने गरेको पूर्वअर्थसचिव शान्तराज सुवेदीले बताए । ‘भन्सार पहिलेदेखि नै आर्थिक मामिलामा बदनाम कमाएको संस्था हो,’ सुवेदीले भने, ‘भन्सारभित्र हुने गैरआर्थिक क्रियाकलापबाट आकर्षित भएर पहुँचका आधारमा स्वार्थी कर्मचारी समूह भन्सार पुग्ने गरेको छ ।’
सामान्य प्रशासन मन्त्रालयले समेत दरबन्दी नभए पनि भन्सारमा बढी कर्मचारी पठाउने गरेको छ । सामान्यले दरबन्दीभन्दा बढी संख्यामा कार्यालय सहयोगी, ड्राइभर र कम्प्युटर अधिकृत खटाउने गरेको हो ।

भन्सार विभागमा प्रशासन हेर्ने उपसचिव टंक पाण्डे तातोपानी भन्सार बन्द भएपछि त्यहाँका कर्मचारीलाई व्यवस्थापन गर्दा केही भन्सारमा दरबन्दीभन्दा बढी कर्मचारी देखिएको बताए । तातोपानी भन्सारमा ६८ जनाको दरबन्दी रहेकामा, तीनजनालाई त्यहाँ राखेर बाँकी सबैलाई अन्य भन्सारमा खटाइएको उनले बताए ।

साना भन्सारमा कर्मचारी अभाव
आर्थिक कारोबार बढी हुने ठूला भन्सारमा दरबन्दीभन्दा बढी कर्मचारी थुप्रिँदा तराईकै छोटी भन्सारमा भने कर्मचारी अपुग छन् । आर्थिक कारोबार कम हुने, अतिरिक्त आर्थिक लाभ नहुने र असुरक्षाका कारण त्यस्ता भन्सारमा कर्मचारी बस्न नमान्ने गरेको विभागका उपसचिव पाण्डे बताउँछन् । ‘बोर्डर एरिया भएकाले कर्मचारीले बढी असुरक्षित महसुस गर्छन्, अन्य आकर्षण पनि कम हुँदा कर्मचारीको संख्या कम हुने गरेको देखिन्छ,’ पाण्डेले भने ।

दरबन्दीभन्दा बढी पठाउन मिल्दैन : विभाग
भन्सार विभाग दरबन्दीभन्दा बढी कर्मचारी पठाउन नमिल्ने बताउँछ । विभागका एक कर्मचारीले दरबन्दीभन्दा बढी कर्मचारीमा कार्यालय सहयोगी, ड्राइभर र कम्प्युटर अधिकृत रहेको बताए । राजस्व समूहका कर्मचारी दरबन्दीभन्दा बढी नरहेको विभागको दाबी छ । राजनीतिक र कर्मचारीको तहबाट आफ्ना मान्छे पठाइदिन दबाब आउने र त्यही कारण पनि भन्सारमा दरबन्दीभन्दा बढी कर्मचारी हुने गरेको विभागको भनाइ छ ।

के भन्छन् राजस्वसचिव ?
राजस्वसचिव शिशिर ढुंगानाले केही भन्सार कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी रहेको स्वीकार गरे । उनले अहिले भने कर्मचारी संख्या घटाउँदै लगेको बताए । ‘पहिला निकै नै धेरै थिए,’ उनले भने, ‘अहिले अतिरिक्त कर्मचारी हटाइरहेका छौँ ।’

अन्य भन्सारमा कहाँ कति कर्मचारी ?
कार्यालय दरबन्दी कार्यरत
भन्सार विभाग १३२ १०८
पशुपतिनगर भन्सार २० १२
राजविराज भन्सार ३० १८
सिरहा भन्सार ३२ २२
जनकपुर भन्सार ३२ २५
जलेश्वर भन्सार ३३ २८
सर्लाही भन्सार ३८ १९
गौर भन्सार ३० २३
तातोपानी भन्सार ६८ ३
कोइलाबास ८ १
राजापुर २५ १३
कैलाली भन्सार ५० ४७
कञ्चनपुर भन्सार ३४ ३०
महाकाली २३ १६
ओलाङचुङगोला ४ २
किमाथांका ४ ३
लामाबगर ४ ०
यारिनाका भन्सार ४ २
मुगु भन्सार ४ ३
लार्के भन्सार ४ २
मुस्ताङ भन्सार ४ ३

जहाँ एउटै कर्मचारी छैनन्
केही भन्सारमा भने दरबन्दीभन्दा निकै कम कर्मचारी छन् । दाङको कोइलाबास भन्सारमा आठजनाको दरबन्दी रहेकामा अहिले एकजना मात्र कार्यरत छन् । यस्तै, दोलखाको लामाबगर भन्सारमा चारजनाको दरबन्दी रहेकामा एक कर्मचारीसमेत नरहेको विभागले जानकारी दिएको छ । यस्तै, ओलाङचुङगोला र लार्के भन्सारमा पनि दरबन्दीभन्दा निकै कम संख्यामा कर्मचारी छन् । यी दुवै भन्सारमा चार–चारजनाको दरबन्दी रहे पनि दुई–दुई कर्मचारी मात्र खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू