अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 09:37

अमेरिकामा चलचित्र महोत्सवको तयारी तीव्र

बिआरटीनेपाल २०७४ चैत १७ गते २२:५१ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले प्रत्येक वर्ष आयोजना गर्ने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण २०१८ को ब्यानर सार्वजनिक भएको छ । यसका साथै महोत्सवको अन्य तयारी पनि तीव्र पारिएको आयोजकहरूले बताएका छन् ।

आगामी मे महिनाको १८ तारिख शुक्रवार साँझ ६ बजे उद्घाटन समारोह सम्पन्न हुने छ । मे १९ र २० शनिवार र आइतबार दिनभरि नेपाल लगायत विभिन्न देशका चलचित्रहरू रेगल सिनेमा, ह्याट्सभिल, मेरिल्याण्डमा प्रदर्शन हुनेछन् । मे २० तारिख आइतबार साँझ महोत्सवको समापन तथा अवार्ड समारोहका साथै चलचित्र महोत्सव २०१९ घोषणा जनाइएको छ । उद्घाटन र समापन भने एएफआइ सिल्भर थिएटरमा हुनेछ |

वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने दोस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको थियो । आवेदन परेका चलचित्रहरू मध्येबाट छनोटमा परेकाहरुको अन्तिम विवरण र महोत्सवका अन्य कार्यक्रमहरू केही दिनमा सार्वजनिक हुने कुरा आयोजकहरूले बताएका छन् । 

चलचित्र महोत्सवसमा मूलतः नेपालका फिचर चलचित्र, बृत्तचित्र,छोटा चलचित्र साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिने जानकारी आयोजकले दिएका छन् । यसको साथै नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विश्वभरि बनेका चलचित्रहरू पनि यस महोत्सवको प्रदर्शन हुनेछ । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ ।

महोत्सवलाई सफल बनाउन आयोजकहरूले सबैलाई अनुरोध गरेका छन् । यस महोत्सवको अवधिमा अन्य कार्यक्रम नजुदाउन अमेरिका तथा वासिङ्टन डिसी, भर्जिन्या र बाल्टिमोरका नेपाली संघसंथाहरुलाई हार्दिक अनुरोध पनि गरिएको छ । चलचित्र महोत्सवको साझेदारीका तथा सहयोगका लागि पनि सङ्घ संस्था तथा व्यक्तित्वहरूलाई आव्हान गरेका छन् ।

यो महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा सङ्घसंस्था तथा व्यक्तित्वहरू, नेपाल लगायत विभिन्न देशका चलचित्र सम्बन्धी सङ्घ संस्था र महोत्सवहरूसँगको सहकार्यमा आयोजना गरिनेछ । यस महोत्सवलाई नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृति सम्बन्धी साझा मञ्चको रूपमा स्थापित गराउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया