अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२१ | Colorodo: 18:36

चलचित्र ‘गाँजा बाजा’लाई सञ्चारकर्मीहरुको तारिफ

बिआरटीनेपाल २०७४ फागुन २८ गते २:१५ मा प्रकाशित

गएको शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘गाँजा बाजा’ले मध्यम ब्यापार गरिरहेको छ । दुई युवाको एकदिनको संघर्षकथालाई रोचक शैलीमा प्रस्तुत गरिएको यो चलचित्रको शनिबार सञ्चारकर्मीहरुलाई बिशेष शो देखाइयो । शो हेरिसकेपछि अधिकांश सञ्चारकर्मिले चलचित्रको तारिफ गरे ।

साथै मुख्य कलाकार सुशील सिटौला र अनुपम शर्माको तारिफ अधिकांशले गरेका थिए । चलचित्र  गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् भने चलचित्रमा दीपेन्द्र रेग्मी र गोमा बिष्टको लगानी छ ।

दुईयुवा गाँजा खानका लागी भौतारिएको कथालाई रोचक तरिकाले चलचित्रमा देखाइएको छ । निर्देशक पाण्डेले नै चलचित्रको कथा लेखेका हुन् । चलचित्रबाट राम्रो प्रतिक्रिया मिलेपछि निर्देशक पाण्डे आफु उत्साहित भएको बताए । साथै निर्माताद्धयले पनि निकै संघर्षका साथै चलचित्र प्रदर्शनमा आएपछिको राम्रो प्रतिक्रियाले खुसी बनाएको बताए । निर्देशक पाण्डेको निर्देशकीय पक्ष, याकोपो रास्लिकको छायांकन र कलाकार द्वय सुशील र अनुपमको कामले पनि तारिफ पाएको थियो ।

सेन्सर बोर्डबाट ‘एडल्ट’ सर्टिफिकेट पाएको यो चलचित्रमा वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बालगायतको पनि अभिनय रहेको छ । दुईबर्ष अघि निर्माण भएको यो चलचित्रले नामकै कारण धेरै झमेला बेहोर्नु परेको थियो ।

चलचित्रको नाममा गाँजा शब्द राखिनु हुँदैन भनेर चलचित्र बिकास बोर्डले अनुमति नदिएपछि लामो समय प्रदर्शनबाट रोकियो र निर्माण टिम सर्वोच्च अदालत सम्म पुगेपछि न्याय पाएको थियो । टुका इन्टरटेन्टमेन्ट र डिआर फिल्मसको व्यानरमा चलचित्र निर्माण भएको हो । चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया