अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५० | Colorodo: 16:05

वन डे विश्वकप छनोट क्रिकेटमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित

बिआरटीनेपाल २०७४ फागुन २४ गते ८:४१ मा प्रकाशित

विश्वकप छनोटको महत्वपूर्ण खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको छ । लगातार दोस्रो हारपछि सुपर सिक्समा पुग्दै वन डे मान्यता प्राप्त गर्ने नेपालको योजना कठिन बनेको छ । अब खेल्न बाँकी दुबै खेलमा जित हात पारेमात्रै नेपाल सुपर सिक्समा पुग्नेछ । जिम्बावेको बुलावायोमा टस जितेर ब्याटिङको निर्णय गरेको नेपालले ४७ दशमलव ४ ओभरमा अलआउट हुँदै मात्र १ सय ४९ रन जोड्न सक्यो । १ सय ५० रनको झिनो लक्ष्य स्कटल्याण्डले खेल सकिन ५१ बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेट्टायो ।
स्कटल्याण्डको जितमा कायल कोयट्जर नायक साबित भए । उनले ८८ रनको योगदान गरे । क्रेग वालयसले १७, कलम म्याकलियोडले १५ र विकेटकपिर म्याथ्यु क्रसले १४ रनको योगदान गरे । नेपालका सन्दिप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिए । यसअघि माथिल्ला र मध्य क्रमका ब्याट्सम्यानहरु क्रिजमा राम्ररी जम्न नसकेपछि नेपाल थोरै रनमा खुम्चिएको थियो । ३९ रन जोड्न महत्वपूर्ण ५ विकेट गुमाएको नेपाली इनिङ्स क्याप्टेन पारस खड्काको ६३ र बसन्त रेग्मीको अविजित २४ रनले उकासिएको थियो । सोमपाल कामीसँग मिलेर पारसले छैटौं विकेटका लागि ४२ रनको साझेदारी गरे । सोमपाल १८ रनमा आउट भए । आजको हाफ सेन्चुरीसँगै पारसले लिष्ट ए क्रिकेटमा १ हजार रन पूरा गरेका छन् । यो सफलता हात पार्ने उनी पहिलो नेपाली खेलाडी हुन् । त्यस्तै रोहित कुमार पौडेलले १५ रन जोडे । अन्य ब्याट्सम्यान बिना दोहोरो अंकको स्कोर पविलियन फर्किए । ओपनिङ गर्न आएका ज्ञानेन्द्र मल्ल र दिलीप नाथले आज पनि राम्रो शुरुआत गर्न सकेनन् । दोस्रो ओभरको पहिलो बलमा ज्ञानेन्द्र १ रनमा आउट भए । तेस्रो ओभरमा दिलीप पनि ४ रन बनाएर पविलियन फर्किए । दिपेन्द्रसिंह ऐरी १, शरद भेषावकर गोल्डन डकआउट र आरिफ शेख २ रनमा आउट भए । सन्दिप लामिछाने ६ र ललित राजवंशी ४ रनमा आउट भए । स्कटल्याण्डका स्टुवार्ट विटिङघमले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सफ्यान सरिफले २ विकेट लिए । शतप्रतिशत जितसहित स्कटल्याण्ड समूह बी को शीर्ष स्थानमा कायम छ । २ खेलमा जित हात पारेको आयोजक जिम्बावे दोस्रोमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू