अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१९ | Colorodo: 20:34

चर्चित अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्यष्टी

रासस/एएफपी २०७४ फागुन १६ गते १२:१० मा प्रकाशित

मुम्बई, गत शनिवार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधवार राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ ।

भारतीय सहर मुम्बइमा उहाँलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्यष्टी गरिएको हो । अन्त्यष्टीपूर्व निकालिएको शवयात्रामा हजारौँ प्रशंसक सहभागी भएका थिए ।

विशेष रूपमा सिङ्गारिएको एउटा ट्रकमा राखेर उहाँको शवलाई सात किलोमिटर टाढा रहेको अन्त्येष्टि स्थलमा लगिएको थियो । शवयात्राका कारण लामो समय मुम्बईको सडकमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो भने अन्त्यष्टीस्थलसम्म पुग्न झन्डै दुई घण्टा लागेको थियो ।

दुबईको अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेपछि उहाँको पार्थिव शरीरलाई मङ्गलवार अबेर राति मात्र दुबईबाट मुम्बई ल्याइएको थियो ।

सोमबार दुबई सरकारले बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘बाथ टब’मा डुबेर भएको जानकारी गराएको छ ।

आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन ५४ वर्षीया श्रीदेवी संयुक्त अरब इमिरेट्स जानु भएको थियो ।

सन् २०१३ मा भारत सरकारले उहाँलाई देशकै चौँथो ठुलो नागरिक सम्मान पद्मश्रीबाट विभूषित गरेको थियो । श्रीदेवीले करिब तीन सय चलचित्रमा अभिनय गर्नुभएको छ ।

सम्बन्धित सामग्रीहरू