अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

पुष्पा खनालले ल्याइन् आमाको सम्झनामा नयाँ गीत

बिआरटीनेपाल २०७४ माघ २६ गते १७:१९ मा प्रकाशित

काठमाडौँ,  गीतकार पुष्पा खनालको नयाँ गीत ‘मैले पुज्ने देव तिमी’ सार्वजनिक भएको छ ।
आफ्नी आमाको सम्झनामा उनले यो गीत ल्याएकी हुन् । आफ्नी आमा दमन्ता खनाल दिवङ्गत भएको वार्षिक दिनमा आमालाई श्रद्धाञ्जली व्यक्त गर्न गीत सार्वजनिक गरिएको गीतकार खनालले बताइन् ।

उनले भनिन् “लेख्दा आफ्नी आमालाई सम्झेर लेखेँ, अब सबै आमाहरूमा समर्पण गर्न चाहन्छु ।”

यस गीतमा लक्ष्मण शेषको सङ्गीत र विन्दु परियारको स्वर रहेको छ । सङ्गीत गर्ने क्रममा आफ्नी आमाको धेरै याद आएको र त्यो पीडालाई सङ्गीतमार्फत् उतार्न निकै कठिन भएको सङ्गीतकार लक्ष्मण शेषले बताए ।

सबै दिवङ्गत आमाहरूप्रति समर्पित यो गीतमार्फत् मानिसको जीवनमा आमा कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा खनालले व्यक्त गरेकी छन् ।

आमा साथैमा भए पनि यो गीत गाउँदा आमा नहुँदाको पीडा कस्तो हुन्छ भन्ने कुराले आफूलाई छोएको र त्यही महसुस हुने गरी आफूले स्वर दिने कोसिस गरेको गायिका विन्दु परियारले बताइन् ।
यो गीत अमेरिका बसाइका क्रममा एक महिनाअघि मात्र लेखेकी हुन् ।

दुई दशकदेखि गीत, सङ्गीत, कविता, कथामार्फत् साहित्य सिर्जनामा लागेकी पुष्पाका दुई वटा एल्बम प्रतिष्ठा (संयुक्त) र अभिनव (एकल)मार्फत् दर्जन बढी गीतहरू बजारमा आएका छन् । त्यस्तै गीत, कविताहरू सङ्ग्रहित पुस्तक ‘पोखिएँ यसरी’ पनि सार्वजनिक भइसकेको छ ।

अन्जु पन्तको स्वर र गोविन्दमधुर आचार्यको सङ्गीत रहेको उनको गीत ‘सुनेँ तिम्रो खुसी त्यतै थियो अरे’ ले सात महिनामा पिआरविटीमार्फत् सर्वाधिक रोयल्टी प्राप्त गरेको थियो ।

प्रतिक्रिया