अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१९ | Colorodo: 20:34

राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रूपमा सार्वजनिक

रासस, काठमाडौँ २०७४ माघ २६ गते ६:५१ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन आगामी आइतबार पेस गर्ने भएको छ ।

आयोगका सचिव वेगेन्द्रराज शर्माले निर्वाचन आयोगमा आयोजित पत्रकारसम्मेलनमा राष्ट्रियसभा सदस्यमा राजनीतिक दलले प्राप्त गरेको सिट संख्याबारे आज औपचारिक जानकारी दिँदै उक्त कुरा बताउनुभएको हो ।

उहाँका अनुसार, राष्ट्रियसभा सदस्यमा २१ महिला र ३५ जना पुरुष निर्वाचित हुनुभएको छ । सङ्घीय संसद्को माथिल्लो सदनका रूपमा रहेको राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते भएको थियो ।

उक्त निर्वाचनमा नौ राजनीतिक दलले भाग लिएकामा नेकपा एमालेका ११, नेपाली काँग्रेसका ६, माओवादी केन्द्रको तीनजना महिला निर्वाचित हुनुभएको छ ।

राष्ट्रियसभा सदस्यमा नेकपा एमाले २७, नेपाली काँग्रेस १३, नेकपा माओवादी केन्द्र १२, राष्ट्रिय जनता पार्टी दुई र सङ्घीय समाजवादी पार्टी नेपाललका दुईजना उम्मेदवार निर्वाचित हुनुभएको हो ।

मुलुक प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसङ्ख्यकसहित आठ जनाका दरले राष्ट्रियसभामा प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था रहेको छ । ५९ सदस्यीय राष्ट्रियसभामा तीन जनालाई भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

सम्बन्धित सामग्रीहरू