अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१६ | Colorodo: 14:31

लस एन्जल्सको पशुपतिनाथ मन्दिरमा प्राण प्रतिष्ठा पूजा फेब्रुअरी ११ देखि

  स्वयंसेवक भई कार्य गर्न इच्छुकलाई सम्पर्क गर्न अनुरोध 

लस एन्जल्स, ५ फेब्रुअरी २०७४ माघ २४ गते ३:०३ मा प्रकाशित

नेपाली समुदाय द्वारा निर्मित पशुपतिनाथ तथा बुद्ध मन्दिरको प्राण प्रतिष्ठा पूजा फेब्रुअरी ११ देखि १३ सम्म हुने भएको छ ।  मन्दिर व्यवस्थापनले फेब्रुअरी १३ मा पर्ने शिवरात्रीको अवसरमा मुर्तिहरुमा प्राण प्रतिष्ठा गरी विधिवत् पुजाआजाको शुभारम्भ गर्ने योजना राखेको छ ।

यसै अवसरमा यजमान बनी पुजाकार्यमा सहभागी हुनको लागि आफ्नो नाम लेखाउन फेब्रुअरी ५ , २०१८ सम्मको म्याद दिई सूचना प्रकाशित गरेको छ । यजमान बन्न इच्छुक व्यक्तिले पालना गर्नुपर्ने आचारसंहिता समेत व्यवस्थापन समितिले प्रकाशन गरेको छ।

प्रकाशित आचारसंहिता यस प्रकार रहेको छ:

१. यज्ञ आरम्भ हुनुभन्दा २ दिन अगाडी देखि नै दाह्री कपाल नङ आदि काटेर सात्विक भोजनमात्र गर्ने र  ब्रह्मचर्यमा रहनुपर्ने छ ।

२. हरेक यजमानले पूजा योग्य वस्त्र धोती, कुर्ता, साडी चोली, उत्तरीय वस्त्र गम्छा आदि सकेसम्म नयाँ नभए धोएको चोखो वस्त्र धारण गर्नुपर्ने छ । (यस्तो वस्त्रको व्यवस्था स्वय गर्नुपर्नेछ )

३. यज्ञ अवधिभर ( ११, १२, र १३ फेब्रुअरी सम्म हरेक दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म ) पूजाको लागि अनिवार्य उपस्थित हुनुपर्ने छ ।

४. आशौचबाट थुन छेक नहोस् भन्ने उद्देश्यले यथाशीघ्र नान्दी-श्राद्धको टीका लगाउन र आवश्यक सर सल्लाह एवं  नीति निर्देशका लागि ६ फेब्रुअरी मङ्गलवार बेलुका ७ बजे अनिवार्य उपस्थिति हुनुपर्ने छ ।

५. पुजाअवधिभर मन्दिर व्यवस्थापन समिति र यज्ञ-आचार्यको सङ्केत पूर्ण रूपमा पालना गर्नुपर्ने छ ।

६. यज्ञ अवधिभर चर्को बोल्न, वादविवाद गर्न, झगडा गर्न, निषेध छ ।

मूर्ती स्पन्सर गर्नको लागि फेब्रुअरी ९ तारिख सम्मको म्याद राखिएको छ । मुर्ति स्पन्सर गर्न इच्छुक ब्यक्तिले मुकुन्द ढुंगानालाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

मूर्ती स्पन्सर गर्ने र दाताहरूको नामावलीको सूची छुट्टाछुट्टै राखिने योजना रहेको सचिव रामेश्वर भण्डारीले जानकारी दिए ।

तीन दिन सम्म चल्ने पूजाको समयमा प्रसाद स्पन्सर गर्न इच्छुक व्यक्तिलाई व्यवस्थापन समितिमा सम्पर्क गर्न अनुरोध गरिएको कोषाध्यक्ष एकराज पाण्डेले बताए । पूजाको समयमा सात्विक भोजनको व्यवस्था गर्नु पर्ने हुँदा, प्रसाद ल्याउनु पूर्व नै के-के राखेर प्रसाद तयार गर्ने भनी सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

आफ्ना नानीहरूलाई स्वयंसेवकको रूपमा कार्य गराउन इच्छुक व्यक्तिले यस कार्यका संयोजक डिल्ली थापासँग सम्पर्क गर्न अनुरोध गरेका छन् । हरेक दिन सरसफाइ देखिका काम गर्नु पर्ने भएको हुँदा मन्दिरमा स्वयंसेवक वा अन्य कुनै रूपमा पनि सहयोग गर्न इच्छुक व्यक्तिले सम्पर्क गर्न अनुरोध गरेको अध्यक्ष भक्त थापाले जानकारी दिए ।

थप जानकारीको लागि सम्पर्क 

भक्त थापा ५६२-३०४-८९७०
ॠषि ढकाल 626-320-2437
रामेश्वर भण्डारी ६२६-७५९-४५४४
एकराज पाण्डे ५६२-५५२-००७०
मुकुन्द ढुंगाना ५६२-२४२-६६७६
डिल्ली थापा ५६२-२९२-२७०७

प्रतिक्रिया