अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

सन् २०२० भित्र वाइवाइ चाउचाउको विश्व बजारमा ४ प्रतिशत हिस्सा पुर्‍याउने लक्ष्य

बिआरटीनेपाल २०७४ माघ १६ गते १८:१५ मा प्रकाशित

नेपाली ब्रान्ड वाइवाइ चाउचाउले विश्वबजारको कम्तीमा ४ प्रतिशत बजार हिस्सा पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेको छ । सन् २०२० सम्म विश्वबजारमा वाइवाइको बजारहिस्सा ४ प्रतिशत पुर्‍याउने चौधरी ग्रुपका अध्यक्ष विनोदकुमार चौधरीले बताए ।

‘हामीले रणनीतिक हिसाबले विश्वका विभिन्न स्थानमा वाइवाइको कारखाना स्थापनालाई जोड दिएका छौँ,’ उनले भने, ‘अहिले पनि विश्वका पाँचवटै महादेशमा वाइवाइको उपस्थिति छ, आगामी दिनमा ती क्षेत्रमा कारखाना स्थापना नै गरेर आफ्नो हिस्सालाई अझै बढाउँछौँ ।’ विश्वका ३० देशमा पुगेको वाइवाइबाट कम्पनीको वार्षिक आम्दानी १५ अर्ब रुपैयाँ रहेको पनि चौधरीले जानकारी दिए ।

विश्वका विभिन्न ९ देशमा उत्पादन केन्द्रहरू स्थापना गरी संसारभरि नै वाइवाइलाई पुर्‍याउने लक्ष्य रहेको उनले बताए । ‘सन् २०२० भित्र वार्षिक ५ अर्ब प्याकेट चाउचाउ उत्पादन गर्ने हाम्रो लक्ष्य हो, जुन त्यसवेलाको विश्व बजारको ४ प्रतिशत हुनेछ,’ उनले बताए ।

हाल चौधरी ग्रुपको वार्षिक उत्पादन क्षमता २ अर्ब ६० करोड प्याकेट प्रतिवर्ष छ । अहिले भने २ अर्ब २० करोड प्याकेट उत्पादन गरिरहेको छ । अहिले विश्वबजारमा चाउचाउको माग ९७ अर्ब ५० करोड प्याकेट प्रतिवर्ष रहेको छ ।

हाल वाइवाइको नेपालमा ३ स्थानमा सातवटा प्लान्ट छन् । ललितपुरको भैँसेपाटी, नवलपरासीको चौधरी उद्योग ग्राम तथा बर्दियाको उद्योग ग्राममा वाइवाइ उत्पादन हुन्छ । त्यस्तै, भारतको विभिन्न ६ स्थानमा ९ वटा उत्पादन लाइनबाट वाइवाइ उत्पादन भइरहेको छ । त्यस्तै, वाइवाइले युरोपको सर्बियाबाट समेत उत्पादन गरिरहेको छ ।

 

बंगलादेश र केन्यामा उद्योग सञ्चालनको चरणमा

चौधरी ग्रुपले बंगलादेश र केन्यामा चाँडै नै उद्योग सञ्चालनमा ल्याउन लागेको जानकारीसमेत अध्यक्ष चौधरीले दिए । बंगलादेश र केन्या दुवै देशमा कारखाना स्थापनाको अन्तिम चरणमा रहेको र निकट भविष्यमा नै उत्पादन सुरु गरिने उनले बताए । त्यस्तै, भुटान, पाकिस्तान, अफ्रिकाको इजिप्ट, दक्षिण अफ्रिकालगायत अन्य दुई देश, उत्तर अमेरिकाको मेक्सिको, दक्षिण अमेरिकाको पेरु तथा दक्षिणपूर्वी एसियाको भियतनामबाट पनि चाउचाउ उत्पादन सुरु गर्ने योजना रहेको  चौधरीले बताए ।

आफूहरूले पहिला आपूर्ति गरेर माग सिर्जना गर्ने नभई मागका आधारमा आपूर्ति गर्ने रणनीति बनाएको चौधरीको भनाइ छ । ‘जहाँ–जहाँ नेपाली पुग्छन्, त्यहाँ वाइवाइ पुर्‍याउँछौँ । त्यसपछि बिस्तारै त्यहाँ माग सिर्जना हुन थाल्छ,’ उनले भने, ‘राम्रो माग भएका ठाउँमा पहिला निर्यात गर्छौं । र, बिस्तारै उत्पादन सुरु गर्छौं ।’ वाइवाइलाई विश्वबजारमा स्थापित गर्नुमा नेपाली उपभोक्ताकै हात रहेको उनले बताए ।

भारतमा ४० प्रतिशत बजार ओगट्ने लक्ष्य
नेपाली चाउचाउ ब्रान्ड वाइवाइले सन् २०२० भित्र भारतमा आफ्नो बजारहिस्सा ४० प्रतिशत पुर्‍याउने भएको छ । आक्रामक बजार विस्तार गरिरहेको वाइवाइको भारतमा अहिले २७ प्रतिशत बजारहिस्सा रहेको वाइवाइका ग्लोबल सिइओ जिपी शाहले जानकारी दिए । ‘त्यो हिस्सालाई बढाउँदै बढीभन्दा बढी भारतीयको रोजाइमा पर्दै जाने लक्ष्य लिएका छौँ,’ उनले भने ।

भारतको सबै क्षेत्रलाई समेट्ने गरी आफूहरूले वाइवाइको उद्योग स्थापना गरिरहेको जानकारी पनि उनले दिए । भारतमा नेस्लेको ब्रान्ड म्यागी चाउचाउको बजारहिस्सा ४७ प्रतिशतभन्दा बढी रहेको छ । वाइवाइ दोस्रो स्थानमा बजार विस्तार गरिरहेको छ । ‘वाइवाइको वार्षिक बजार विस्तार ३० प्रतिशतको हाराहारीमा बढिरहेको छ,’ शाहले बताए । चौधरी समूहका भारतमा ९ वटा वाइवाइका लाइन रहेका छन् । सबैभन्दा पहिला सिक्किमबाट वाइवाइ उत्पादन सुरु गरेको समूहका उत्तराखण्डको रुद्रपुरमा दुईवटा प्लान्ट, छैंगाउँमा दुईवटा, सिल्चरमा दुईवटा, बिहारको पूर्णिया र आन्ध्र प्रदेशमा एउटा प्लान्ट सञ्चालनमा छन् । चौधरी समूहले राजस्थानको अजमेरमा वाइवाइ प्लान्टको शिलन्यास गरिसकेको छ ।

बिहारको पूर्णियामा सन् २०१५ बाट प्लान्ट सञ्चालन आएको पूर्णियाका सञ्चालन महाप्रबन्धक दिव्यराज घिमिरेले जानकारी दिए । सो प्लान्टमा ४ सय ७५ जनाभन्दा बढीले रोजगारी पाएका छन् । त्यसमध्ये १५ जना नेपाली रहेको घिमिरेले बताए ।नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू