अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२८ | Colorodo: 03:43

पप् सम्राट् ऒम विक्रम विष्ट उपचारको लागी भर्जिनियामा एघार हजार डलर सहयोग

खेम भट्टचन, वासिङ्टन डिसी २०७४ माघ ९ गते ८:५४ मा प्रकाशित

दुवै मृगौला फेल भएर जीवन मरणको दोसाँधमा परेका पप् सम्राट् ऒम विक्रम विष्टको उपचारार्थ नेपाली कलाकारहरूको संस्था ईन्टरनेशनल नेप्लीज आर्टिस्ट सोसाइटी (ईनास) ले भर्जिनियामा एक सांस्कृतिक कार्यक्रम आयोजना गरेर एघार हजार डलर आर्थिक सहयोग गरेको छ ।

भर्जिनियामा आयोजित सांस्कृतिक ऒम विक्रम विष्ट सहयोग साँझमा अमेरिकाका लागी नेपाली राजदूत डा अर्जुन कुमार कार्की, इन्टरनेशनल नेप्लीज आर्टिस्ट सोसाइटी ईनासका केन्द्रीय अध्यक्ष अनन्दु लामा र भर्जिनिया च्याप्टरका अध्यक्ष गोविन्द दास श्रेष्ठले संयुक्त रूपमा ईनासको तर्फबाट दश हजार डलरको एक झोला नगद पप् सम्राट् ऒमबिक्रम बिस्टलाई हस्तान्तरण गरिएको थियो । पछि फेरी एक हजार डलर थप गरेर सहयोग रकम एघार हजार डलर पुर्‍याएर ईनासका अध्यक्ष अनंदु लामाले ओम विक्रम विष्टलाई हस्तान्तरण गरे ।

नेपाल आईडलका कार्यक्रम संचालिका नायिका तथा मोडल रिमा विश्वकर्मा र आयोजक संस्था ईनासका सल्लाहकार रमेश मैनालीले सञ्चालन गरेको भव्य सांस्कृतिक कार्यक्रममा बरिष्ट नायक सरोज खनाल र किरण प्रताप केसी दुई जनाले आकर्षक नाटक मन्चन गरेका थिए । नेपालको गणतान्त्रिक संविधानमा पटक पटक गरिएको संशोधन, सङ्घीय प्रणाली र नेपाल सरकारले गरेका गल्तीहरू बारे नाटक मन्चन गर्दाखेरी नायक सरोज खनालले मञ्चबाट तल झरेर नेपाल सरकारका प्रतिनिधि राजदूत डा अर्जुन कार्कीको नाक अगाडी नै चोर औंला तेर्स्याउंदै नेपाल सरकारलाई व्यंग गरिएको नाटक बडो आकर्षक र मर्मस्पर्शी थियो ।

पेन्सिल्भानिया र म्यारिल्याण्ड राज्यको लागी नेपाल सरकारका अवैतनिक महाबाणिज्यदुत तथा लोकगायक प्रेमराजा महतले आफ्नो लोकगीतमा दर्शकहरूलाई नचाउनु नचाए । यसै गरी हास्य कलाकार शिवहरी पौडेल र कोलोराडोका कलाकार कृष्ण मुरारी ढुंगेलको हाँस्यव्यंगले पनि दर्शकहरूलाई हँसाउनु हँसायो । न्युयोर्कका जगदीश समाल र सपना श्री तथा बाल्टिमोरका सन्जिब प्रधानको गीत पनि जम्नु जमेको थियो । त्यस्तै, गायिका रिता श्रेष्ठको प्रत्येक गीतको बोलमा भित्ताको ठुलो स्क्रिनमा रंगी चंगी फुलहरू फुलेको दृश्य बहुतै आकर्षक देखिन्थ्यो । कार्यक्रम आयोजक संस्था ईनासका केन्द्रीय महासचिव कृष्ण श्रेष्ठको कम्प्युटर प्रविधि प्रत्येक गीत, नृत्य प्रस्तुत हुँदा गीतको बोल ठुलो स्क्रिनमा आएको डिजिटल प्रविधिले कार्यक्रमलाई बहुतै आकर्षक बनाएको थियो ।

अमेरिकाका लागी नेपाली राजदूत डा अर्जुन कुमार कार्कीले कार्यक्रममा भर्जिनियाको स्थानीय सरकार लाउडन काऊँन्टीका स्थानीय माननीय फ्यालिश जे र्यान्डललाई प्रसंशापत्रले सम्मान गरे । अमेरिकाको राजनैतिक दल डेमोक्य्राटिक् पार्टीका हरि शर्माले स्थानीय सरकारसँग समन्वय गरेका थिए । दोहोरी गायक रमेश परियारको रोचक लोकगीत लगायत अन्य स्थानीय कलाकारहरूको गीत तथा नृत्य मध्य रात सम्म जमेको थियो।

दुवै मृगौला फेल भएर जीवन मरणको दोसाँधमा परेका पप् सम्राट् ऒम विक्रम विष्टलाई परेको दुखको वर्णन गर्दै कार्यक्रम सञ्चालन गर्दा सञ्चालक रमेश मैनाली भाबुक भएर शब्द उच्चारण नै गर्न नसक्दा हलभरि खचाखच सम्पूर्ण दर्शकको आँखा रसाएका थिए ।

फोटो: राजिब श्रेष्ठ

प्रतिक्रिया