अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७ | Colorodo: 21:12

लस एन्जलसमा तमु ल्होसार भव्य रूपमा सम्पन्न (फोटो फिचर)

बिआरटी नेपाल सम्बादाता, लसएन्जलस । २०७४ माघ १ गते १५:३५ मा प्रकाशित

अमेरिकाको लस एन्जलस सहरमा गुरुङ्ग समुदायको तमु ल्होसार २०१८ भव्य रूपमा मनाइएको छ । चरा वर्षलाई बिदाइ र कुकुर वर्षलाई स्वागत गर्दै मनाइने उक्त पर्व लसएन्जलसको आर्टेसिया सहरमा भएको हो ।

लस एन्जलस तमु समाजका अध्यक्ष ज्ञानेन्द्र गुरुङ्गको सभापतित्व रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि स्थानीय नेपाली समुदायका अभिभावक मानिने वेद भक्त जोशी रहेका थिए । संस्थाका महासचिव प्रकाश गुरुङ्गले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ्गले स्वागत मन्तव्य राखेका थिए ।

मन्तव्यको क्रममा “आ-आफ्नै छुट्टै भाषा भाषी रहेको १२५ जातीहरू रहेको सुन्दर देश नेपाल छोडेर आ-आफ्नै तुनेलो गरेर बिरानो मुलुक अमेरिकामा बसेका छौ । सात समुन्दर पार गरेर यस अमेरिकामा बस्नु परे पनि हामी गुरुङ्ग समुदायले आफ्नो संस्कार र पहिचानको जगेर्ना तथा प्रबर्धन गर्दै आएका छौ । आपसी सद्भाव र मेलमिलापलाई मध्यानजर राख्दै एलएका समस्त जाती र समुदायका बिच यो ल्होसार पर्व मनाउँदै आएको छौ । अमेरिकाको व्यस्त समयका बाब्जुद हाम्रो यस कार्यक्रमको शोभा बढाई दिन र हाम्रो खुसी सँग खुसी आदानप्रदान गर्न उपस्थित विभिन्न सङ्घ संस्थाहरू तथा समस्त जनहरूलाई कार्यक्रममा स्वागत गर्दछु” भने सभापति ज्ञानेन्द्र गुरुङ्गले ।

करिब अढाई वर्ष नेपालमा बस्दा गुरुङ्ग समुदायसँगको सङ्गतले यस संस्कार र कला प्रति आकर्षित भएकी थिए । लस एन्जलसमा पनि त्यही प्यारो संस्कार र संस्कृति झल्किने कार्यक्रममा आज रमाउन पाउँदा धेरै खुसी लागेको छ भनेकी थिइन अमेरिकी मूलकी नतासाले । सो समुदाय प्रतिको आफ्नो आत्मीयताका कारण आफ्नो नाम पनि लक्ष्मी गुरुङ्ग राखेकी छन् उनीले ।

यस्ता सुन्दर संस्कार र संस्कृति बोकेका विभिन्न जातिगत संस्थाका कार्यक्रमहरूमा विदेशी स्थानीय समुदायहरूलाई पनि सम्मिलित गराउन सके नेपालको पर्यटन विकासमा टेवा मिल्न सक्ने धारणा रह्यो नेपाली पर्यटन दूत रामेश्वर भण्डारीको ।

यसै गरी, अन्य बक्ताहरु पशुपति फाउण्डेसनका अध्यक्ष तथा सिटी अफ आर्टिसियाका प्लानिङ्ग कमिसनर भक्त थापा, एनआरएन कि उपाध्यक्ष उमा कार्की र प्रमुख अतिथि बेदभक्त जोशीले कार्यक्रका आयोजक तमु समाज अफ लसएनजलसलाई धन्यवाद दिदैं समस्त गुरुङ्ग समुदायलाई तमु ल्होसार २०१८को शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा सुन्दर गुरुङ्ग संस्कृति झल्किने भेषभुषा सहीतका सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए । विशेष गरी नेपालकी ख्यातिप्राप्त लोक गायिका शिला आलेको सुमधुर स्वरमा गुन्जियका एकल तथा दोहोरी गीतहरूले सहाभागीहरुलाई झम-झमी नचाएको थियो ।

तारा हिमालयन कुजिनको स्वादिष्ट भोजनका साथमा नेपाली सेल रोटीले सबैको जिब्रो मिठ्ठिएको थियो । जिब्रोमा नेपाली खानाको मिठो स्वाद, आँखामा गुरुङ्ग पहिरन, कानमा नेपाली गीत र सङ्गीत । यी सबै चिजले माहौल नै संगीतमय तथा न्रित्यमय बने पछि अल्छी शरीरहरू पनि जुरु जुरु हुँदा रहेछन् । कमर मर्काई-मर्काइ छम्छमी नाचे एलए बासी । कार्यक्रमबाट जाने कसैको मन नहुँदा-नहुँदै पनि डिजेलाई बन्द गर्ने इसारा गर्‍यो केवल त्यो मद्य रातले । 

प्रतिक्रिया