अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३८ | Colorodo: 18:53

यस्तो छ, डा. गोविन्द केसीले इजलास समक्ष राखेको भनाइको सम्पादित अंश

बिआरटीनेपाल २०७४ पुष २६ गते १९:२२ मा प्रकाशित

गोपाल पराजुली (प्रधानन्यायाधीश) को आदेशले मेरो टेलिफोन सिज गरिएको छ । पराजुली नजिकका मानिसहरूले मेरा साथीलाई सम्पर्क गरेर थ्रेट गर्नुभयो । केही पहिले पनि मलाई नातेदारमार्फत ‘ठीक पारिदिने’ थ्रेट दिनुभएको थियो । म रैती होइन, सार्वभौम नागरिक हुँ, धम्कीले डराउँदिनँ । 

न्यायाधीशज्यूहरू,

म कमजोर भएको छैन। उठेर बोल्न सक्छु। म हरेक पटक अनशन बस्दा छुट्टी लिएर बसेको छु र त्रिभुवन विश्वविद्यालयको नियम मिचेको छैन। बिदामा बसेर नागरिकको स्वास्थ्यको अधिकारका लागि लड्नु मेरो इच्छाको कुरा हो।
गोपाल पराजुली (प्रधानन्यायाधीश) को आदेशले मेरो टेलिफोन सिज गरिएको छ। पराजुली नजिकका मानिसहरूले मेरा साथीलाई सम्पर्क गरेर थ्रेट गर्नुभयो। केही पहिले पनि मलाई नातेदारमार्फत ‘ठीक पारिदिने’ थ्रेट दिनुभएको थियो। म रैती होइन, सार्वभौम नागरिक हुँ, धम्कीले डराउँदिनँ।
मलाई अस्ती साँझ ९ बजेतिर पक्राउ गरिएको हो। मलाई भोलिपल्ट अदालतले बोलाएको भए ९ बजे नै हाजिर हुने थिएँ। अदालतको आदेश पनि छैन। पक्राउ पुर्जीमा कारण खुलाइएको छैन। म स्वतन्त्र नागरिक हुँ र मलाई अभिव्यक्ति स्वतन्त्रता छ। के गोपाल पराजुली र प्रहरी महानिरीक्षक मात्रै नागरिक हुन्? कतै मैले इजलाससमक्ष यो कुरा राख्दै गर्दा पनि अवहेलना हुने हो कि?
(इजलासले स्वास्थ्यको कारण देखाइ बोल्न गाह्रो होला भन्दै भनाइ टुंग्याउन आग्रह गर्छ।)
मैले लिखित भनाइ राख्ने क्रममा सबै कुरा बोल्न गाह्रो छ, त्यहीले म यहाँ थप कुरा बोल्दैछु। म अदालतलाई सम्मान गर्छु। सही तरिकाले हुने काम कारबाहीमाथि मैले प्रश्न उठाएको छैन। न्याय बिक्री गर्नेविरुद्ध म लड्छु। त्यसविरुद्ध जे सजाय हुन्छ, भोग्न तयार छु। मैले प्रधानन्यायाधीश पदमा रहेका गोपाल पराजुलीजी माथिको प्रेस विज्ञप्तिको जिम्मेवारी लिन्छु। गोपाल पराजुली माफिया र भ्रष्ट हुन्।
(इजलासले केसीमाथि हस्तक्षेप गर्छ, हात उचालेर आफ्नो भनाइ राखिरहेकाले उनको हातमा घोचिएको सुईको घाउ बल्झिन सक्ने भन्दै शान्त हुन र बस्न आग्रह गर्छ।)
मैले बयानमा भ्रष्ट, माफिया गोपाल पराजुली लेखेको छु। हामी १० वर्षदेखि स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षा सुधारका लागि लडेको छु। पूर्वाधारबिना मेडिकल कलेजहरू सञ्चालन भएका छन्। गुणस्तरका लागि नेपाल मेडिकल काउन्सिल र विश्वविद्यालयहरू छन्। यी नियमनकारी निकायले कलेजमाथि गरेको निर्णय बदर गर्ने काम भयो। नियामक निकायको काम बदर गरेर मेडिकल कलेजहरूले जति सिट मागेको छ, फैसलामा त्यति दिइएको छ। त्यसैले ३ करोड नेपालीको स्वास्थ्य अधिकार हनन छ। अनि उनी कसरी माफिया भएनन्? (केसीले इजलासलाई नमस्कार गर्छन्)
म अनुरोध गर्छु, मैले आरोप लगाएको व्यक्ति भ्रष्टसमेत हो। (इजलासले केसीको स्वास्थ्यको विषयमा ध्यानाकर्षण गराउँदै आराम गर्न र भाषण नगर्न आग्रह गर्छ)। यो मेरो भाषण होइन, तथ्यसत्य हो। उहाँले २ जिल्लाबाट नागरिकता लिनुभएको छ। दुईवटा उमेर छ। यो जाली काम हो? यो जस्तो गम्भीर कुरा के हुन्छ। एसएलसी प्रमाणपत्र विवादको कुरा छ। त्यसैले मैले उठाएको सवालका कारण कुनै पनि सजाय भोग्न तयार छु। सजायबाट म डराउँदिनँ। म गोपाल पराजुलीविरुद्ध लडिरहेको छु। उनी प्रधानन्यायाधीश छन्। इजलास न्यायसम्पादनका क्रममा प्रभावित भएको छैन भन्ने सुनिश्चित हुनुपर्छ।
(केसीका कानून व्यवसायी डा. सुरेन्द्र भण्डारीले उनलाई हस्तक्षेप गर्छन् र केसीको निष्पक्ष न्यायसम्पादनका लागि आफूहरूले सक्दो प्रयास गर्ने भन्दै भनाइ अन्त्य गर्न आग्रह गरेपछि केसी बस्छन्। कानून व्यवसायीहरूको बहस सकिएपछि केसी फेरि उठेर आफ्नो भनाइ राख्छन्।)
म धरौटी आदि इत्यादिमा रिहा हुन चाहन्नँ। मलाई धरौटी राखेर रिहा हुनु छैन। मैले उठाएका सवाल छानबिन हुनुपर्छ। माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन।
(आफूविरुद्धको अवहेलना मुद्दाको सुनुवाइका क्रममा डा. गोविन्द केसीले इजलाससमक्ष राखेको भनाइको सम्पादित अंश।)
स्रोत: कान्तिपुर दैनिक
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू