अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०७ | Colorodo: 22:22

डा. केसीको प्रकाउ प्रति प्रधानमन्त्रीको आक्रोश – केसीका समर्थकले आज माइतीघरमा प्रदर्शन गर्दै

बिआरटीनेपाल २०७४ पुष २४ गते १९:१८ मा प्रकाशित

 प्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई थाहै नदिइ डा.गोविन्द केसीलाई पक्राउ गरेकोमा रिसाएका छन् ।डा. केसीलाई अपराधी जस्तो गरि पक्राउ गरेकोमा गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री रिसाएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै भने, ‘डा. केसी स्वयं मंगलवार अदालत जानु हुन्थ्यो, अपराधीलाई जस्तो गरि पक्राउ गर्नु जरुरी थिएन।’ डा.केसीको गिरफ्तारी बारे प्रधानमन्त्रीलाई थाहा नदिइएको परियारले बताए ।

सोमवार सर्वोच्च अदालतमा परेको अवहेलना सम्वन्धी मुद्दाको सुनुवाई गर्दै अदालतले गृहमन्त्रालय र नेपाल प्रहरीलाई आदेश जारी गर्दै मंगलवार डा.केसीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेशपछि डा.केसीलाई प्रहरीले उनको अनशन स्थलबाटै गिरफ्तार गरेको थियो । शिक्षण अस्पताल महाराजगञ्जमा अनसन थालेका डा.केसीलाई प्रहरीले गिरफ्तार गरी अनामनगर प्रहरी परिसरमा राखेको छ । केसीले प्रहरी परिसरमै अनशन जारी राखेका छन् ।

मेडिकल शिक्षाको सुधारको माग गर्दै पटक पटक सत्याग्रह गर्दै आएका केसी सर्वोच्च अदालतबाट चिकित्सा शास्त्र संकायका डिनलाई पुर्नस्थापना गर्ने निर्णय भएपछि आक्रोशित हुँदै अर्को चरणको आमरण अनसनमा बसेका थिए । उनले यसपटक प्रधानन्यायाधीशको राजीनामा मागेर अनसन सुरु गरेलगत्तै अवहेलना मुद्दा दायर भए लगत्तै मुद्दाको सुनुवाइ भएर पक्राउ आदेश जारी भएको हो ।

यसैबीच डा.केसीको आन्दोलनका समर्थकहरुले मंगलवार विहान माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् ।

यसैगरी नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले विज्ञप्ती जारी गरी अस्पताल परिसरबाटै डा.केसीको गिरफ्तारी भएकोमा दु:ख व्यक्त गर्दै उनको तत्काल रिहाईको माग गरेको छ । आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू