अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१२ | Colorodo: 22:27

गलत समाचार रोक्न नयाँ कानुन ल्याउने फ्रेन्च राष्ट्रपति म्याक्रोंको घोषणा

बिआरटीनेपाल २०७४ पुष २१ गते १६:४० मा प्रकाशित

 फ्रेन्च राष्ट्रपति इमानुयल म्याक्रोंले बिहीबार ‘गलत समाचार’ प्रवाह रोक्न नयाँ कानुन ल्याउने घोषणा गरेका छन् । उनले चुनावी अभियानका क्रममा सामाजिक सञ्जालमा हुन सक्ने गलत समाचार रोक्न त्यस्तो कानुन आवश्यक भएको बताए ।

उनले भने, ‘राजनीतिक अधिकारी, विभिन्न लोकिप्रिय व्यक्ति, पत्रकार लगायतलाई लक्षित गरी नियोजित रूपमा विभिन्न भाषामा सूचना जानकारीहरू सामाजिक मिडियामार्फत सार्वजनिक भएका छन् ।’ म्याक्रोंले नियोजित रूपमा उदार लोकतन्त्रप्रति मानिसको विश्वासमाथि सामाजिक मिडियामार्फत निरन्तरप्रहार भएकाले नयाँ कानुन ल्याउन लागेको दाबी गरे । नयाँ वर्षको अवसरमा सञ्चारकर्मीका लागि आयोजित भोजमा राष्ट्रपति म्याक्रोंले भने, ‘हामी गलत सूचनाबाट लोकतन्त्रलाई बचाउन कानुनी व्यवस्था विकसितगर्दै छौं ।’

 म्याक्रोंले यसअघि रूसले युरोपेली देशका चुनावी अभियानलाई प्रभावित पार्न सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको संकेत गरेका थिए । तर संवाददाताले उनलाई रूसी भूमिकाबारे भने कुनै प्रश्न भने गरेनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपतीय चुनावी अभियानमा पनि रूसले सामाजिक सञ्जालमार्फत मानिसलाई प्रभावित गरेको आरोप लाग्दै आएको छ । यद्यपि रूसले उक्त आरोपको अस्वीकार गर्दै आएको छ ।
म्याक्रोंले केही रकम खर्चेर सामाजिक मिडियामा व्यक्ति वा राजनीतिक समूहलाई बदनाम गर्ने गरी प्रचारप्रसार गराउन सम्भव भएको भन्दै चिन्ता प्रकट गरे । उनले त्यस्ता गलत सूचनाले सत्य र झूटबीचको रेखा धमिल्याएको दाबी गरे ।
नयाँ कानुनले न्यायाधीशलाई झूटा समाचार दिने वेबसाइट बन्द गराउने व्यवस्था समावेश गरिने बताए । उनका अनुसार उक्त कानुनमा वैदेशिक लगानी वा प्रभावमा रहेका टेलिभिजन प्रसारणले अस्थिरता फैलाउन गरेको प्रयास रोक्ने अधिकार दिने जनाए ।
यसअघि माक्रोंले विश्व जनमतलाई आफ्नो स्वार्थअनुकूल प्रभावित पार्न रूसले सामाजिक मिडियाको प्रयोग गर्ने गरेको टिप्पणी गरेका थिए । उनले सार्वजनिक रूपमा रूसी सञ्चारमाध्यम आरटी र स्पुत्निकले ‘गलत नियत’ ले सूचना सार्वजनिक गर्ने गरेको बताएका थिए ।
प्रस्तावित कानुनअनुसार खासगरी चुनावी अभियानमा सामाजिक मिडियामार्फत सार्वजनिक सामग्रीको स्रोत खुलाउनुपर्ने व्यवस्था गरिएको उनले बताए ।(बीबीसी)
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू