अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०३ | Colorodo: 14:18

भूकम्प पीडितको आश्रय बगरमा

बिआरटीनेपाल २०७४ पुष ७ गते २०:३४ मा प्रकाशित

रसुवाको उत्तरगया गाउँपालिकाको खाल्टे बगर भूकम्पपीडितको आश्रयस्थल बनेको छ । बगरमा साना–ठुला गरी करिब डेढ सय टहरा ठडिएका छन् । दुई वर्षअघि भूकम्पले बिल्लीबाठ बनाएका पीडित बास खोज्दै खाल्टे बगर आएका हुन् ।

भूकम्पले आफ्नो जायजेथा सबै लुटेपछि पीडित भाडाको जग्गामा बस्दै आएका थिए । बेरोजगार उनीहरू जग्गाको भाडा तिर्न नसक्ने अवस्था आएपछि खाली ठाउँ खोज्दै त्रिशूली बगरमा आएका हुन्। भिन्न–भिन्न क्षेत्रबाट आएका पीडितले धमाधम टहरो बनाउन थालेसँगै बगर पनि भरिन थालेको छ । आफ्नो जग्गा बस्नयोग्य नभएपछि बगरमा आउनुपरेको पीडित बताउँछन् । ‘भूकम्पअघि गाउँमा खेती गरेरै जीविका चलाएका थियौँ,’ उत्तरगया गाउँपालिका डाडागाउँबाट खाल्टे बगरमा आइपुगेकी ठूलीमाया तामाङले भनिन्, ‘भूकम्पले पेट पाल्ने बाटो नै बन्द गरिदियो, दिन बित्दै जाँदा सुरक्षित बास पाइन्छकि भनेको त बगरमा पो आउनुपर्‍यो।’

उनले डाडागाउँका ३० घरधुरी खाल्टेमै शरण पर्न आएको बताइन् । ‘भरपर्दो ओतको खोजीमा धेरै ठाउँ भौंतारियौं, अन्तिममा बालुवा र डुङ्गाले भरिएको बगरमा आयौँ,’ उनले भनिन्।

उत्तरगया गाउँपालिकाका चार टोलका बासिन्दा अहिले त्रिशूली बगरमा टहरो बनाई बसेका छन्। भूकम्पले गाउँ नै सखाप पारेपछि उनीहरू उत्तरगया गाउँपालिकाकैै नौबिसे, माइलुङ, खार्कु, बेत्रावतीलगायत ठाउँमा जग्गा भाडामा लिएर बस्दै आएका थिए । तर, जग्गाको चर्को भाडा तिर्नुपर्ने भएपछि उनीहरू त्यो ठाउँ छाड्न बाध्य भएका हुन्। ‘गाउँमा छँदा खेती गरेरै दैनिकी चलेको थियो, अहिले मजदुरी गरेर दैनिकी गुजार्नसमेत पाएका छैनौँ,’ बगरमा टहरो बनाएर बस्दै आएकी दिलमाया तामाङले भनिन्, ‘ढुङ्गा र बालुवामाथि चिसो सहन निकै मुस्किल छ ।’ उनले हालसम्म सरकारबाट प्राप्त हुने कुनै किसिमको राहत नपाएको गुनासो पनि गरिन्।

पछिल्लो भूकम्पले जायजेथा सबै लुटेपछि भाडाको जग्गामा बस्दै आएका पीडितहरू भाडा तिर्न नसकेपछि बास खोज्दै त्रिशूली बगरमा टहरो बनाएर बसेका छन् ।

उनले सरकारले पीडितलाई बेलैमा सुरक्षित बासको व्यवस्था गर्न नसक्दा बगरमा आएर बस्नुपर्ने बाध्यता आएको गुनासो गरिन् । ‘सरकारले नै बेवास्ता गरेका कारण हामीले दुःख पाएका हौँ,’ उनले भनिन्, ‘गरिब र बेसहारालाई सरकारले पनि हेर्दोरहेनछ।’

पीडितहरू बस्दै आएको क्षेत्र नजिकै छ, उत्तरगया गाउँपालिकाको कार्यालय । तर, गाउँपालिकाले आफूहरूप्रति खासै चासो नदिएको पीडित बताउँछन् । बगरमा कति टहरा छन् र पीडित कसरी बसेका छन् भन्ने सम्बन्धमा गाउँपालिकामा कुनै रेकर्ड छैन । बगरमा बस्दै आएका पीडितलाई राख्न बनाइएको शिविरमा अहिले गाउँपालिका कार्यालय राखिएको छ।

गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले नदी किनारमा मोटामोटी डेढ सय टहरा बनेको जानकारी दिए । उनले बगर जोखिमपूर्ण ठाउँ हो भनेर सचेत गराउँदागराउँदै पनि पीडित जबर्जस्ती आएर बसेको बताए । ‘भौगर्भिक अध्ययनले पनि यस क्षेत्रलाई मावनबस्ती बसाउन नमिल्ने देखाएको छ,’ लम्सालले भने, ‘हामीले त माथिल्लो निकायबाट आएको सेवासुविधा दिने हो, पीडितका निम्ति गाउँपालिका आफैँले कार्यक्रम बनाउन सक्दैन ।’ उनले २०२० सालको बाढीले त्रिशूली किनारमा यो बगर बनेको बताए । ‘यो बगर बस्नका लागि सुरक्षित छैन,’ उनले भने, ‘पीडितलाई ध्यानमा राख्दै अन्यत्र स्थानान्तरण गर्ने सम्बन्धमा अहिले गाउँपालिकामा छलफल भइरहेको छ ।’ उनका अनुसार यो बगर नदीभन्दा करिब २० फिट उचाइमा छ । बगरमा बस्न आउनेको सङ्ख्या भने अझै रोकिएको छैन । बगर अतिक्रमण गर्दै टहरा बनाउने क्रम जारी छ।

भौगर्भिक अध्ययनले बस्न नमिल्ने देखाएपछि पीडितमा अर्को पीरलो थपिएको छ । प्राकृतिक विपत्तिका कारण पुख्यौंली थातथलो छाडेर बेसहारा बनेका पीडित अर्को जोखिममा पर्ने डर देखिएको छ । उनीहरू अब कहाँ जाने भन्ने चिन्तामा छन् । ‘सुरक्षित बासमात्रै भए दुःख गरेरै जीविका चलाउथ्यौं,’ बगरमा बस्दै आएका सोमबहादुर तामाङले भने, ‘बरु पहिला बसेकै ठाउँ सुरक्षित थियो तर, जग्गाको भाडा तिर्न नसकेर यहाँ आउन बाध्य भयौँ ।’

शौचालय छैन
सुरक्षित बासस्थान खोज्दै खाल्टेबगर पुगेका भूकम्पपीडित खुला ठाउँमै दिसापिसाब गर्न बाध्य छन् । भूकम्पले उठीबास लागेपछि तेस्रोपल्ट बसाइँ सरी त्रिशूली बगर पुगेका डेढ सय परिवार अहिले शौचालयबाट वञ्चित छन् । आर्थिक अभावका कारण शौचालय बनाउन नसक्दा आफूहरू खुला क्षेत्रमै दिसापिसाब गर्न बाध्य भएको पीडितहरू बताउँछन् । ‘भूकम्पले भत्काएको पुरानोे घरको जस्तापाता र बाँसको सहायतामा जेनेतेन टहरो त ठडायौं,’ बगरको टहरोमा बस्दै आएकी जोमो तामाङले भनिन्, ‘पैसा नभएर शौचालय बनाउन पाइएन।’

उनी त एक उदाहरण मात्रै हुन् । भूकम्पबाट उठीबास भएर बगरमा बस्न आएका अधिकांश पीडित खुला क्षेत्रमा दिसापिसाब गर्न बाध्य छन् । यहाँ एकदुई परिवारले मात्रै शौचालय निर्माण गरेका छन् । पैसा नभएर शौचालय बनाउन नसकेको अर्की पीडित सरिता तामाङले बताइन् । उनले भनिन्, ‘एकजनाले कमाएर सातजनाको पेट भर्नुपरेको छ, शौचालय बनाउने पैसा कहाँबाट हुनु ?’

आगामी बजेटमा बगरमा बसेका पीडितका लागि शौचालय बनाउन रकमको व्यवस्था मिलाइने गाउँपालिका अध्यक्ष लम्सालले बताए । उनले शौचालय नहुँदा पीडित बस्तीमा सरुवा रोग लाग्ने डर देखिएकाले जिल्ला जनस्वास्थ कार्यालयलाई त्यसतर्फ ध्यान दिन आग्रह गरिएको पनि जनाए।

बेरोजगार छन् पीडित
भूकम्पका कारण बास खोसिएकालाई दैनिकी धान्न मुस्किल छ । आफैँ बस्ने ओतको जोहो गरेका अधिकांश पीडित रोजगार नपाएकाले दैनिकी धान्न अतिकस्ट हुने गरेको सुनाउँछन् । ‘सातामा दुई दिन काम पाए ५ दिन बेरोजगार बस्नुपर्ने अवस्था छ,’ पीडित ख्यामे तामाङले भने, ‘काम पाए त दैनिकी सजिलो बनाउँथ्यौं ।’ उनले बगरमा आश्रय लिएका युवा बेरोजगार भएको बताए । ‘काम गर्ने मन त थियो तर कामै पाएनौं,’ तामाङले सुनाए,’ ‘हामी बगरमा बस्नेलाई कस्ने काम दिन्छ र ?’ आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू