अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५८ | Colorodo: 08:13

मेनहाटनमा बम पड्कियो, एक बङलादेशी गिरफ्तार

अभियुक्त - अकायद उल्लाह

बिआरटी नेपाल सम्बादाता, न्युयोर्क । २०७४ मंसिर २५ गते १९:०४ मा प्रकाशित

मेनहाटनस्थित पोर्ट अथोरिटी टर्मिनलमा बम पड्काएको अभियोगमा प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ । अभियुक्तको नाम अकायद उल्लाह भएको र उनी २७ वर्षको रहेको अधिकारीहरूले जनाएका छन् । बम स्थानीय समय अनुसार बिहान साढे ७ बजे पड्किएको थियो । उल्लाहले बम आफ्नो शरीरमा बेरेर बस टर्मिनल पुगेको अनुमान छ ।

उल्लाहको ज्याकेट र कपडा बम पड्किँदा फाटेको छ । उनी घाइते छन् । उनलाई प्रहरीले घाइते अवस्थामा लडिरहेको फेला पारेका थिए । बम पड्किँदा अन्य ४ जनालाई सामान्य चोट लागेको छ ।

पोर्ट अथोरिटी टर्मिनल बिहान ज्यादै व्यस्त रहन्छ । यो संसारकै सबैभन्दा ठुलो टर्मिनल हो जहाँ वार्षिक ६ करोड ५० लाख यात्रुले बस र रेलको सुविधा उपभोग गर्छन् ।

‘आतङ्कवादीले जित्दैनन्,’ मेनहाटन विस्फोट लगत्तै मेयर बिल दी ब्लाजियोले भने । विस्फोट उल्लाह एक्लैले गराएको विश्वास गरिएको उनको भनाई छ ।

न्यू योर्कका गभर्नर न्यू योर्क प्रजातन्त्र र स्वतन्त्रता विरुद्ध छाप पार्न चहाने धेरैको तारो भएको बताए । ‘हाम्रो बन्दरगाहमै स्ट्याचु अफ लिबर्टी छ जसले हामीलाई अन्तर्राष्ट्रिय रूपमा (प्रजातन्त्र विरोधीको) तारो बनाएको छ,’ उनले भने ।

विस्फोट पछि पोर्ट अथोरिटी बस टर्मिनल केही समय बन्द गरिएको थियो भने नजिकका सब वे स्टेसन खाली गरिएको थियो । विस्फोटका बेला घटनास्थलमा रहेका आन्द्रे रोड्रिग, ६२ ले न्यू योर्क टाइम्सलाई बम पड्किएको सुनेपछि सबै दौडिएको बताएका छन् । प्रतक्ष्यदर्शी अलिजा लकास्कीले रोयटर्सलाई करिब ६० मानिस दौडिएको, एउटा महिला लडेको र उनलाई उठ्न कसैले सहयोग नगरेको त्रासदीपूर्ण दृश्य देखेको बताएकी छन् ।

Photo: Google Search

सम्बन्धित सामग्रीहरू