अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४५ | Colorodo: 09:00

न्युयोर्कमा साकेला सम्पन्न (फोटो फिचर)

बिआरटी नेपाल सम्बादाता, न्युयोर्क । २०७५ जेठ १ गते ९:११ मा प्रकाशित

किराँत राईहरूको महान् चाड साकेला (उभौली) आइतबार न्यू योर्कस्थित क्वीन्सब्रिज पार्कमा भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली सङ्घ अमेरिकाका न्यू योर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारीले साकेला विशिष्ट चाड भएको बताए । ‘तपाईँहरूले दिनुभएको गर्विलो आतिथ्यताका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘गैर आवासीय नेपाली सङ्घ सधैँ तपाइहरूसँग रहने वचन व्यक्त गर्छु ।’

साकेला किराँत राई सोसाइटी अफ अमेरिका (केआरएसए) को न्यू योर्क च्याप्टरले आयोजना गरेको हो । कार्यक्रमको संयोजन च्याप्टरकी महासचिव निला राईले गरेकी थिइन् भने अध्यक्ष भारती राई न्यू योर्क सिटी मेयर बिल डी ब्लेजियोले पठाएको शुभकामना सन्देश पढेर सुनाएकी थिइन् । कार्यक्रममा सहभागी हुन केआरएसएका बोर्ड चेयर भर्मन्टबाट आएका थिए ।

कार्यक्रम चुला पूजा गरेर सुरु भएको थियो । साकेला नृत्यका सिलिमोपा (मुख्य नृत्यकार) प्रेम राई थिए । उनकै अगुवाइमा साकेला नृत्य सम्पन्न भएको थियो । साकेलाको नृत्यका लागि साङ्गीतिक पाटो भने डिजे राजेन्द्र राईले सम्हालेका थिए ।

केआरएसए न्यू योर्क च्याप्टरले हरेक वर्ष उभौली मनाउँछ । प्रवासमा रहेर राई संस्कृति प्रवर्द्धन गर्ने उदेश्यले डेढ दशकभन्दा लामो समयदेखि न्यू योर्कमा मनाउँदै आएको केआरएसए न्यू योर्क च्याप्टर अध्यक्ष भारती राईले बताइन् ।

साकेला (उभौली) राई समुदायको चाड भए पनि कार्यक्रममा सबै समुदायको बाक्लो उपस्थिति थियो । कार्यक्रममा न्यू योर्कमा रहेका करिब डेढ दर्जन सामाजिक तथा जातीय संस्थाका पदाधिकारीहरू उपस्थित थिए । कम्तीमा ३ सय जना सहभागी कार्यक्रममा आधाभन्दा बढी सहभागी किराँत राई इतर समुदायका मानिस थिए ।

कार्यक्रममा कम्तीमा ५ सय मानिस उपस्थित हुने आयोजकको अनुमान थियो । तर झरीका कारण सहभागीको सङ्ख्या घटेको आयोजकको भनाइ छ । कार्यक्रममा सांस्कृतिक नृत्य साकेलाका अतिरिक्त बालबालिकाका लागि चित्रकला लगायतका मनोरञ्जनात्मक आयोजना गरिएको थियो ।
उभौली र उधौली गरी साकेला वर्षको दुई पटक मनाइन्छ । उभौली गर्मी लाग्दै गर्दा र उधौली जाडो लाग्दै गर्दा मनाइन्छ । मौसम परिवर्तनसँगै गर्मी छल्न पहाडतिर उक्लने र जाडो छल्न तराईतिर झर्ने अभ्याससँग साकेला जोडिएको छ । प्रकृतिपुजक किराँत राई समुदायले साकेलामा नाचका माध्यमबाट संसार र आफ्नो उत्पत्ति तथा प्रकृतिसँगको सम्बन्धको कथा भन्छन् ।