अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 01:53

न्यु योर्कमा मनाइयो राष्ट्रिय दिवस, राष्ट्रिय दिवसमा सहभागी नहुन फिप्नाको उर्दी

बिआरटी नेपाल सम्बादाता, न्युयोर्क । २०७५ असोज ५ गते ११:२७ मा प्रकाशित

पर्यटन प्रवर्धनमा कनिका बजेट

न्यु योर्कस्थित नेपाली महावाणिज्य दूतावासले विभिन्न कार्यक्रम गरी राष्ट्रिय दिवस मनाएको छ । 

महावाण्ज्यि दूतावासले बिहीबार म्यानहाटनमा राष्ट्रिय दिवस मनाएको हो । नेपालमा भने राष्ट्रिय दिवसलाई असोज ३ मा संविधान दिवसका रूपमा मनाइन्छ ।

राष्ट्रिय दिवसमा नेपाली समुदायका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि र सामाजिक अगुवाहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रममा कुमारी नृत्य, आधुनिक नेपाली नृत्य, मैथिली नृत्य शेर्पा नृत्य, गुरुङ नृत्य र मञ्जुश्री नृत्य लगायतका सांस्कृतिक प्रस्तुति गरिएको थियो । साथै, कार्यक्रममा सहभागीहरूलाई नेपाली परिकारहरू प्रदान गरिएको थियो ।

नेपालका लागि अमेरिकी राजदूत अर्जुनकुमार कार्कीले राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिएका थिए । राष्ट्रिय दिवसको सुरुवात नेपाली राष्ट्रिय गान र अमेरिकी नेशनल एन्थेमबाट गरिएको थियो । 

नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले भने महावाणिज्य दूतावासले आयोजना गरेको राष्ट्रिय दिवसमा सहभागी नहुन आफ्ना सदस्य संस्थाहरूलाई उर्दी जारी गरेको थियो । फिप्नाले आदिवासी जनजातिहरूले उठाउँदै आएको पहिचानसहितको सङ्घीयता, छलकपटरहित धर्म निरपेक्षता, राज्यको अङ्गहरूमा समानुपातिक तथा समावेशी प्रणाली, संरक्षित तथा विशेष क्षेत्रहरूको सुनिश्चितता, बहुभाषिक तथा बहुसांस्कृतिक समुदाय र समाजको राष्ट्रिय रूपमा सम्मानजनक सहअस्तित्व लगायतका कुराहरू संविधान पुनर्लेखन गरी सम्बोधन नगरेसम्म राष्ट्रिय दिवसमा सहभागी नहुने भन्दै विज्ञप्ति जारी गरेको थियो ।

राष्ट्रिय दिवसकै अवसरमा महावाणिज्य दूतावासले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रम पनि गरेको थियो । कार्यक्रममा प्यासिफिक एसिया ट्राभल एशोसियन न्यु योर्ककी अध्यक्ष एलिजाबेथ चीनले नेपालले पर्यटकीय क्षेत्रलाई महत्त्व दिँदै गरिरहेको काम र विकासबारे धारणा राखेकी थिइन् । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । कार्यक्रममा अमेरिकामा काम गर्ने विभिन्न देशका पर्यटन व्यवसायीले स्टल राखेर प्रचार प्रसार गरेका थिए । 

पर्यटकीय क्षेत्रमा काम गर्ने कम्पनी रिमोट ल्याण्डस्की सह संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत क्याथरिन हिल्डले नेपाल भ्रमणबारे आफ्नो अनुभव सुनाएकी थिइन् । कार्यक्रममा सगरमाथा आरोही तथा युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका अध्यक्ष आङ ग्याल्जेन शेर्पाले नेपालका पर्यटकीय स्थलबारे चिनारी दिएका थिए भने इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युटका प्रतिनिधि परशु नेपालले फरक क्षमता भएका पर्यटकका लागि पनि नेपाल आकर्षक गन्तव्य भएको भिडियो प्रस्तुति गरेका थिए । कार्यक्रममा बजारीकरण र सञ्चारसम्बन्धी काम गर्ने वाइनेज वल्र्ड मिडिया ग्रुपका अध्यक्ष बाइने भी लीले पर्यटन र बजारिकरणसम्बन्धी आफ्नो धारणा राखेका थिए ।

कार्यवाहक महावाणिज्यदूत पुष्प राज भट्टराईले राष्ट्रिय दिवसको अवसर छोपेर पर्यटन प्रबद्र्धनसम्बन्धी कार्यक्रम गरेको बताए । नेपाल सरकारले पछिल्लो समय आर्थिक कूटनीतिमा जोड दिए पनि बजेट भने ज्यादै कम विनियोजन गरेको छ । अमेरिकामा आर्थिक कूटनीति गर्न महावाणिज्य दूतावासले २० हजार अमेरिकी डलरभन्दा कम बजेट पाएको छ । त्यसबाट २ वटा कार्यक्रमका लागि हल भाडा पनि मुस्किलले तिर्न पुग्ने जानकारहरू बताउँछन् । अझ ‘आर्थिक कूटनीतिका लागि बजेट ज्यादैक कम भएको भन्ने कुरा ठिक हो,’ कार्यवाहक महावाणिज्यदूत भट्टराई भन्छन्, ‘हामीले पाएका बजेटबाट सञ्चार माध्यम र सामाजिक सञ्जालमा विज्ञापन गर्न तथा अनुभवी संस्थालाई बजारिकणको जिम्मा दिन वा व्यावसायिक लेखकलाई नेपाल भ्रमण गराएर यहाँको सञ्चार माध्यममा लेख लेखाउन सकिन्न ।’ 

सम्बन्धित सामग्रीहरू