अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

न्यु योर्कमा नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव (निफ्फ)

बिआरटी नेपाल सम्बादाता, न्युयोर्क । २०७५ भदौ ३१ गते ९:४० मा प्रकाशित

नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव (निफ्फ) २०१८ शनिवार देखि सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ, अमेरिका (फिप्ना) ले आयोजना गरेको महोत्सव निफ्फ अवार्ड प्रदान गर्दै आइतबार समापन हुनेछ । 

महोत्सवमा प्रतिस्पर्धाका लागि ४२ आदिवासी चलचित्र परेका थियो । त्यसमध्ये ११ चलचित्र दुई दिने महोत्वसमा प्रदर्शन गरिनेछ । महोत्सवमा ३ वटा लघु चलचित्र र २ वटा डकुमेन्ट्री (वृत्त चित्र) पनि प्रदर्शन गरिने छ । चलचित्रका लागि विभिन्न १० विधाको पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट चलचित्रलाई चलचित्र विकास बोर्डले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्नेछ ।

महासङ्घले प्रारम्भिक रूपमा चलचित्र छनौटको लागि आदिवासी चलचित्र महासङ्घ, नेपालका अध्यक्ष अमृत सुनुवारको संयोजकत्वमा अनिल बुढा मगर, भुपेन्द्र गुरुङ, अरुण प्रधान र श्री जना सुब्बा सदस्य रहेको पाँच सदस्यीय प्रारम्भिक छनौट समिति गठन गरेको थियो । समितिले विभिन्न समुदायबाट दर्ता भएका ४६ पूर्ण तथा लघु (छोटो) चलचित्र र डकुमेन्ट्री मध्ये २४ वटा छनौट गरी अमेरिका पठाएको थियो ।

निफ्फ अवार्ड २०१८ का लागि शैलेश श्रेष्ठको संयोजकत्वमा शम्भु मोक्तान, लीला राई, रोज लामा र छिरिङ्ग रिन्जिन गुरुङको पाँच सदस्यीय निर्णायक समिति गठन गरिएको छ । त्यसै गरी, लघु चलचित्र र डकुमेन्ट्री छनौटको लागि सङ्घीय परिषद्, फिप्नाको सभामुख विनोद पोमोको संयोजनमा निमा पाख्रिन र मच्छेदेबी गुरुङ सम्मिलित तीन सदस्य निर्णायक समिति निर्माण गरिएको छ ।

महोत्सव प्रमुख अतिथि एनआरएन आईसीसी नर्थ अमेरिकाको उपसंयोजक नवीन शेरचन र फिप्नाका अध्यक्ष मानबहादुर राना मगरले पानसमा बत्ती बालेर र नेपाल चलचित्र विकास बोर्डको सदस्य सचिव महेन्द्रप्रसाद शांखी, अमेरिकाका लागि नेपाली बाणिज्यदुत कृशु क्षेत्री र काउन्सिल मेन कोस्टा कोस्टान्टिनीडेजले संयुक्त रूपमा ब्यानर खोलेर उद्घाटन गरेका थिए । 

उद्घाटन सत्रमा बोल्दै फिप्ना अध्यक्ष मगरले जनजातिको मौलिक भाषा, संस्कृति, संस्कार, रितिरिवाज र धर्मलाई संरक्षण र संवर्धन गर्न सहयोग पुर्‍याउने बताए ।

प्रमुख अतिथि एनआरएन आईसीसी नर्थ अमेरिकाको उपसंयोजक नवीन शेरचनले फिप्नाले महोत्सवको प्रशंसा गर्दै सबै जना एक जुट भएर अगाडी बढ्नु पर्ने बताए । उनले महोत्सव जनजातिको पहिचानसँग जोडिएकाले नेपाल सरकारलाई पनि ठोस सहयोग गर्न आग्रह गरे । 

नेपाल चलचित्र विकास बोर्डका सदस्य सचिव महेन्द्र शांखीले सरकारले जनजातिको भाषा, संस्कृति सँग सम्बन्धित चलचित्रको निर्माण गर्न सहयोग गर्न नसकेको स्वीकार गर्दै विदेशको भूमिमा आयोजना गरिएको यो फिल्म महोत्सवले आदिवासी चलचित्रको विकास र प्रवर्धन मा टेवा पुग्ने बताए ।

नेपाली महावाणिज्य दूतावासका वाणिज्य दूत कृसु क्षेत्रीले महोत्सव आदिवासी जनजातिका सांस्कृतिक सम्पदाहरू राष्ट्रकै सम्पदा र सम्पत्ति भएको उल्लेख गरे । उनले सरकारको तर्फबाट सक्दो सहयोग पु¥याउन र महासङ्घ सँग हातेमालो गरेर अघि बढ्न महावाणिज्य दूतावास तयार रहेको बताए । काउन्सिल म्यान कोस्टा कोण्टाण्टिनिडिसले महोत्सवले नेपाली आदिवासीहरूको संस्कृतिको प्रवर्धन गर्ने बताउँदै आयोजक फिप्नालाई आभार व्यक्त गरे ।