अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

निफ्फ अवार्ड यारीलाई

बिआरटी नेपाल सम्बादाता, न्युयोर्क । २०७५ असोज ३ गते ११:४३ मा प्रकाशित

नेपाल आदिवासी चलचित्र महोत्सव (निफ्फ) २०१८ अवार्ड ‘यारी’ ले हात पारेको छ । 

नेपाल आदिवासी जनजाति महासङ्घ, अमेरिका (फिप्ना) ले सेप्टेम्बर १५ र १६ मा निफ्फ आयोजना गरेको थियो । नेपाली आदिवासी समुदायले निर्माण गरेको खास गरी भाषाभाषीका फिल्मलाई प्रोत्साहन गर्ने उदेश्यले निफ्फ आयोजना गरिएको हो । यारी किराँत राई समुदायमा आधारित फिल्म हो । 

फिप्नाले निफ्फ आयोजना गरेको यो दोस्रो पटक हो । निफ्फ २०१८ मा छनौटमा परेका ९ चलचित्र मध्ये ‘यारी’लाई निर्णायकले उत्कृष्ट चलचित्र घोषणा गरेका थिए । यारीको निर्देशन वीरबहादुर राईले गरेका हुन् ।

निफ्फमा ‘वेस्ट एक्टर’ राजेश गुरुङले ‘भेडी गोठाले’ (गुरुङ चलचित्र), ‘वेस्ट एक्ट्रेस’ भिन्तुना जोशीले ‘स्वयनगु’ (नेवार चलचित्र), ‘वेस्ट स्टोरी’ प्रिया तामाङले ‘सेम्की तम’ (तामाङ चलचित्र), ‘वेस्ट फिल्म बाई पब्लिक चोईस’ ‘भेडी गोठाले’, ‘वेस्ट डाइरेक्टर’ अरुण कुमार प्रधानले ‘ओम्ला’ (याख्खा) चलचित्रबाट, ‘वेस्ट कस्टुम’ स्वयमगु ‘वेस्ट सिनेमेटोग्राफÞर’ युवराज राईले ‘यारी’, ‘वेस्ट स्कृन प्ले’ अमृतमान महर्जनले ‘स्वयनगु’ र ‘वेस्ट म्युजिक’ रैंयाँ चलचित्रले हात पारेका छन् । त्यसै गरी छनौटमा परेका ३ वटा लघु चलचित्रबाट ‘वेस्ट सर्ट फिल्म’ को पुरस्कार ‘गिल श्याँदर’ (सुनुवार) ले प्राप्त गरेको छ । डकुमेन्ट्री तर्फ भने ‘वेस्ट डकुमेन्ट्री’ संजोग लाफा मगरद्वारा निर्मित ‘कमलपोखरी’ ले जित्न सफल भएको छ । 

निफ्फका लागि ४२ आदिवासी चलचित्रहरू दर्ता गरिएका थिए । त्यसबाट छानिएका ९ चलचित्र मात्र प्रदर्शन गरिएको थियो । त्यस्तै निफ्फमा ३ वटा लघु चलचित्र र २ वटा डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । निफ्फ अवार्ड पाउन सफल यारीलाई नेपाल सरकार चलचित्र विकास बोर्डले एक लाख पच्चिस हजार रुपैयाँ नगद पुरस्कार उपलब्ध गराउने छ । ‘वेस्ट सर्ट फिल्म’ र ‘वेस्ट डकुमेन्ट्री’ लाई कदरपत्र सहित एकतिस हजार रूपैंयाँका दरले नगद पुरस्कार प्रदान गरिएको छ । 

महासङ्घले आदिवासी चलचित्र महासङ्घ नेपालका अध्यक्ष अमृत सुनुवारको संयोजकत्वमा अनिल बुढा मगर, भूपेन्द्र गुरुङ, अरुण प्रधान र श्रीजना सुब्बा सदस्य रहेको प्रारम्भिक छनौट समिति गठन गरेको थियो । उक्त समितिले विभिन्न समुदायबाट दर्ता भएको ४६ पूर्ण तथा लघु चलचित्र र डकुमेन्ट्री मध्ये २४ वटा छनौट गरी अमेरिका पठाएको थियो । त्यसमध्ये पनि प्रदर्शनका लागि ९ वटा लामा चलचित्र र ३ वटा लघु चलचित्र तथा २ वटा डकुमेन्ट्री छानिएको थियो ।

निफ्फ अवार्डका लागि अभिनेता समेत रहिसकेका शैलेश श्रेष्ठको संयोजकत्वमा शम्भु मोक्तान, लीला राई, रोज लामा र छिरिङ्ग रिन्जिन गुरुङको पाँच सदस्यीय निर्णायक समिति गठन गरिएको थियो । त्यसै गरी, लघु चलचित्र र डकुमेन्ट्री छनौटको लागि फिप्ना सङ्घीय परिषद् सभामुख विनोद पोमोको संयोजनमा निमा पाख्रिन र मच्छेदेबी गुरुङ सम्मिलित तीन सदस्य निर्णायक समिति निर्माण गरिएको थियो । पाख्रिन एभरेष्ट टाइम्सका सम्पादक हुन् भने गुरुङ महिला अधिकारका पक्षकामा आवाज उठाउने रेडियोकर्मी हुन् । 

सम्बन्धित सामग्रीहरू