अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 03:45

सोनाम लोछार सम्पन्न

एकै दिन दुईतिर ल्होसार

बिआरटी नेपाल सम्बादाता, न्युयोर्क । २०७५ माघ २० गते ६:०८ मा प्रकाशित

तामाङ समुदायले आफ्नो सबैभन्दा ठुलो पर्व सोनाम ल्होसार २८५५ (नयाँ वर्ष) विभिन्न कार्यक्रमका साथ शनिवार मनाएका छन् । 

तामाङ सोसाइटी अफ न्यु योर्कले लामा गुरुबाट विशेष पूजा र विविध सांस्कृतिक कार्यक्रम सहित सोनाम ल्हो (नयाँ) सार (वर्ष) मनाएको हो । सोनाम ल्होसारमा कुकुर वर्ग (नागी ल्हो) लाई बिदाइ र बदेल वर्ग (फाग ल्हो) को स्वागत गर्दै शुभकामना साटासाट गरियो ।

कार्यक्रममा तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले पहिचानको मुद्दासहित लोछार मनाइरहेको बताए । ‘जनसङ्ख्याका हिसाबले नेपालमा ५ औँ स्थानमा भए पनि छ । तामाङ जातिले राजनीतिक, सामाजिक, सांस्कृतिक अधिकार पाएको छैन,’ उनले भने, ‘त्यही भएर तामाङ राजनीतिक शैक्षिक लगायतका क्षेत्रमा पछि परिरहेको छ । राजनीतिक अधिकार प्राप्त गर्न पहिचानसहितको अधिकार चाहिन्छ ।’ 

उनले राज्य नयाँ संरचनामा गइरहेको बेला अमेरिकामा रहेका तामाङ यहाँ मात्र सीमित रहनु नहुने बताए । ‘राजनीतिक सामाजिक र पहिचानका मुद्दा कसरी अगाडि बढाउन सकिन्छ भन्ने अभिपप्रायका साथ नर्थ अमेरिका गठन भएको हो,’ उनले भने ।

कार्यत्रममा तामाङ सोसाइटी अफ न्यु योर्कका अध्यक्ष गोमा योञ्जन तामाङ र विशेष अतिथिका रूपमा आमन्त्रण गरिएका अमेरिकाका लागि नेपाली निमित्त वाणिज्य दूत पुष्पराज भट्टराईले शुभकामना मन्तव्य दिएका थिए । तामाङ सोसाइटी अफ अमेरिका २००२ मा स्थापना भएको हो । २०१८ मा तामाङ सोसाइटी अफ अमेरिकालाई तामाङ सोसाइटी अफ नर्थ अमेरिका बनायौँ । तामाङ सोसाइटी अफ न्यु योर्क २०१८ मा स्थापना भएको हो । 

संस्थापन पक्ष तामाङ सोसाइटी अफ नर्थ अमेरिकाबाट फुटेर गठन गरिएको तामाङ समाज अमेरिकाले पनि शनिवारै धूमधामका साथ ल्होसार मनाएको छ । समाजको ल्होसारमा प्रमुख अतिथि वाणिज्य दूत कृष्णकुमार सुवेदी (कृषु क्षेत्री) र विशेष अतिथि काउन्सिल म्यान कोस्टा कोस्टान्टिनिडस थिए । आदिवासी जनजाति महासङ्घका पूर्व अध्यक्ष लुसाइङ बाइबा तामाङ र समाजकी अध्यक्ष सानुमाया तामाङले शुभकामना दिएका थिए ।