अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

पिता गुमाएका गायक तथा संगीतकार राज सागरले गरे भोजपुरमा नयाँ संस्कारको सुरुवात

बिआरटीनेपाल २०७४ कार्तिक १५ गते ८:२३ मा प्रकाशित

केही दिन अघि आफ्ना पिता गुमाएका गायक तथा संगीतकार राज सागरले आफ्नो गाउँ भोजपुर जिल्लाको सालपा सिलिचोक गाउँपालीका २ मा काजकिरिया सम्बन्धी नयाँ चलनको सुरुवात गरेका छन् । गत कात्तिक ८ गते उपचारका क्रममा काठमाडौं हस्पीटल त्रिपुरेश्वरमा निधन भएका आफ्ना पिता लालबहादुर सुन्दासको काजकिरिया कर्म ७ दिनमा नै सम्पन्न गरेर राज सागरले आफ्नो गाउँमा नयाँ चलनको सुरुवात गरेका हुन् ।

कमल थापा नेतृत्वको राप्रपा नेपालमा समेत आवद्ध राज सागरले हिन्दु धर्मको शास्त्रिय मान्यतामा रहेर संस्कार सुधारमा लागेका अग्रजहरूले प्रस्तुत गरेका प्रमाण र तथ्यका आधारमा १३ दिन सम्म गरिने किरियाकर्मलाई ७ दिनमा छोट्याएका हुन् । धर्मशास्त्र, गृहसूत्र, स्मृति  ग्रन्थहरूमा उल्लिखित भएअनुसार ५ दिनमा नै दिगंवत ब्यक्तीको काजकिरिया सम्पन्न गर्न सकिन्छ तर बर्षौंदेखी गाउँ समाजका पुरोहितहरुले १३ दिन सम्म किरियापुत्री कोरामा बस्नुपर्ने चलन चलाउँदै आएपछि यसैलाई संस्कारको रुपमा हिन्दुधर्म मान्नेहरुले हेर्दै आएका भएपनि पछिल्लो समय यसबारे अध्ययन र तथ्यगत प्रमाण जुटाउँदा पराशरस्मृति, परासरगृहसूत्र, मनुस्मृति, धर्मसिन्धु र निर्णसिन्धु जस्ता पुस्तकमा ५ दिनमा काजकिरिया गर्न सकिने आधार भेटिएपछि यति बेला नेपालमा बिस्तारै यो चलनको सुरुवात हुँदैछ । यहि तथ्यगत शास्त्रिय मान्यतामा रहेर गायक तथा संगीतकार राज सागरले आफ्नै घरबाट यो संस्कारको सुरुवात गरेका हुन् ।

स्व. लालबहादुर सुन्दास र दिलामाया सुन्दासका ३ छोरा र १ छोरी मध्यका कान्छा छोरा राज सागर पिताको निधनपछि पशुपति आर्यघाटमा दाहसंस्कार सकेर किरियाकर्मका लागि भोजपुर पुगे । सुरुमा उनले ५ दिनमा नै किरिया संस्कार सम्पन्न गर्न मिल्छ भन्दा गाउँलेहरुले यो कुरा मान्न तयार नभएपछि पण्डित संकर प्रसाद पोखरेलसंग गाउँलेहरुको कुरा गराएपछि मात्र उनिहरु ७ दिनमा किरियाकर्म सम्पन्न गर्न राजी भएका थिए ।

‘राज सागरले भने ‘पहिले गाउँलेहरुलाई लागेको रहेछ दिन छोट्याउँदा किरियाकर्मको रिती पनि हट्न सक्छ । यहि आशंकामा गाउँलेहरुले सहजै स्वकार्न नमान्नु भएको रहेछ । यो नयाँ सुरुवात भएकाले उहाँहरुलाई असहज लाग्नु स्वभाविक पनि थियो । तर जव सबै कर्म पुर्णरुपमा हुनेकुरा बुझेपछि उहाँहरुले अनुमती दिनुभयो र किरियाकर्म सकिएपछि धन्यवाद समेत ब्यक्त गर्नुभयो । १३ दिनमा हुने कुनै पनि कर्म नछुटाई गरिएपछि उहाँहरुले यो संस्कारले निधन भएका ब्यक्तीको परिवार, छिमेकी र किरियापुत्री समेतलाई असाध्यै सजिलो हुने भएकाले आगामी दिनहरुमा सबै मिलेर यहि चलनलाई स्थापित गराउने धारणा ब्यक्त गर्नुभयो ।’

नेपाली सांगितीक क्षेत्रमा आफ्नो छुट्टै छवि बनाएका राज सागर नेपाली गजल बिद्यालाई युवा पुस्ताको आकर्षण बनाएर साहित्य र संगीतको बलियो स्तम्भ खडा गर्न सकिन्छ भन्ने मान्यतामा हिँडिरहेका संगीतकर्मी हुन् । साहित्य अनुरागीहरुबिच प्रिय बनेका उनि मेहफिलमय कार्यक्रमहरुमा गजल गायनका लागि सर्वाधिक रुचाईएका गायक हुन् ।

प्रतिक्रिया