अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

प्रम देउवासँग अफगानी राष्ट्रपति, पाकिस्तानी र बङ्गलादेशका प्रमबीच भेटवार्ता

बिआरटीनेपाल २०७४ असोज ५ गते १८:११ मा प्रकाशित

संयुक्त राष्ट्र सङ्घको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग भेटवार्ता सुरु गर्नुभएको छ ।

सो क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) अन्तर्गत अफगानिस्तानका राष्ट्रपति तथा पाकिस्तान र बङ्गलादेशका प्रधानमन्त्रीसँग प्रधानमन्त्री देउवाले छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो । प्रधानमन्त्री देउवाले बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग महासभास्थलमा छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो । दुवै भेटमा दुई देशबीचको आपसी सम्बन्ध, चासो र सहयोगका विविध पक्षबारे कुराकानी भएको जनाइएको छ ।
भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र सङ्घको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई अपराह्न सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रसंघको ७२ औँ महासभालाई प्रधानमन्त्री देउवाले यही असोज ७ गते सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधवार बिहान यहाँ आइपुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू