अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

मोफसल दौडाहामा ग्याङ्गस्टर टिम, पोखरामा देखियो यस्तो क्रेज

बिआरटीनेपाल २०७४ साउन २३ गते १६:२९ मा प्रकाशित

आउँदो भदौ २ बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ टिम यति बेला मोफसल प्रचारमा जुटेको छ । निर्माण युनिट, लिड कलाकार तथा साङ्गीतिक टिम सहितको टोली मोफसलका मुख्य सहर पोखरा, बुटवल, चितवन र हेटौंडा लगायतका ठाउँको लागी विभिन्न कार्यक्रम सहित भ्रमणमा निस्किएको हो ।

फिल्म युनिटले शनिवार र आइतबार पोखराका विभिन्न ठाउँमा ‘स्ट्रिट कन्सर्ट’ सहित प्रचारात्मक कार्यक्रम सम्पन्न गरेको छ । पोखराको ट्रेड मलमा शनिवार साँझ आयोजित कार्यक्रममा स्थानीय सयौँ दर्शक झुम्मिए । चर्चित सङ्गीतकार तथा गायक कालिप्रसाद बाँस्कोटा अनि गायिका वाणिमा प्रधानको गायनमा कम्मर मर्काए । यस्तै लिड अभिनेता आशिरमान देशराज जोशी, संयम पुरी, अभिनेत्री द्वय आना शर्मा र रोजिशा शाहीसँग सेल्फीमा रमाए ।

फिल्म मुख्यतः युवा पुस्ता पक्षित हुँदा निर्माण टिमले सोही प्रकारको ’पब्लिसिटी स्टाटेजी’ बनाएर आइतबार पोखरा आसपासका कलेजहरुमा पुग्यो । जहाँ अचम्मको माहोल बन्यो बिधार्थीहरु पढाई छाडेरै आशिर आना अनि संयमसँग अंकमाल गर्न, सेल्फी लिन अनि तस्बिर खिचाउनमा निस्किए । आइतबार बिहान जनमैत्री क्याम्पस प्राङ्गणमा सम्पन्न कन्सर्टमा ५ सय बढी विधार्थीको सहभागिता देखियो ।

जेएमसीसँगै ला ग्राण्डी ईन्टरनेशनल कलेजमा भएको छुट्टाछुट्टै कार्यक्रमबाट आशिरमानलाई बाहिर निकाल्न नै आयोजकलाई मुस्किल परेको थियो । सेल्फीमा रहाउनेदेखि गालामा किस गर्ने अनि अटोग्राफ लिने भिन्न भिन्न प्रकारका आशिर क्रेजी फ्यानहरु पोखरामा भेटिए । पहिलो फिल्म रिलिजको छेकोमा नै आशिरमा देखिएको क्रेजले स्थानियबासीले उनलाई भोलीको स्टारको उपमा दिएका छन् । यस्तै लामो समयपछि दर्शकमाझ नजिकबाट पुगेका ‘सायद’ अभिनेता संयम पुरीको क्रेज पनि पोखरेलीमाझ उस्तै देखियो भने ‘जेरी’ पछि पर्दामा ’ग्याङ्गस्टर ब्लूज’बाट पर्दामा पुनरागमन गर्दै गरेकी आना पनि सोही प्रकारले घेरिईन् ।

कार्यक्रममा फिल्म युनिटले क्विज कन्टेस्ट पनि सम्पन्न गरेको छ । फिल्मसँग सम्बन्धित रहेर गरिएका प्रश्नको सही उत्तर दिने मध्येबाट पोखरामा भदौ १ गते हुने प्रिमियरको लागी सात जना दर्शकले कलाकारसँगै रहेर फिल्म हेर्ने अवसर आफ्नो पक्षमा पारेका छन् ।

त्यसपश्चात आयोजित पत्रकार भेटघाटमा फिल्म निर्देशक हेमराज बिसीले पोखरेली दर्शकले दिएको माया र सद्भावलाई भदौ २ मा रिलिजपछि फिल्मले न्याय गर्ने बोले । पछिल्लो पुस्ताका दर्शकको मनोभावनालाई सम्बोधन गर्ने किसिमले फिल्म बनाएको भन्दै बिसीले दर्शकलाई आफ्ना पछिल्ला सबै फिल्मले भन्दा फरक स्वाद ‘ग्याङ्गस्टर ब्लूज’ले दिने दाबी पनि गरे ।

निर्माता सरोज न्यौपानेले पोखरेली दर्शकले फिल्मप्रति देखाएको उत्सुकता अनि चासो तथा लिड अभिनेता अभिनेत्री प्रतिको क्रेजले फिल्म सफलताको सङ्केत दिएको बोले । आइतबारको पोखरा कार्यक्रम सकाएर फिल्म टिम बुटवल पुगेको छ । सोमबार तथा मङ्गलवार बुटवलमा कार्यक्रमपछि बुधवार ‘ग्याङ्गस्टर’ टिम चितवनका कार्यक्रममा सहभागी हुनेछ । त्यसपश्चात शुक्रवार र शनिवार हेटौंडामा हुने प्रचारात्मक कार्यक्रम तथा कन्सर्टमा कलाकार सहितको टिम उपस्थित हुनेछ ।

तश्विरः मिलन ढुङ्गाना

प्रतिक्रिया