अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०३ | Colorodo: 22:18

द भाइब्ज ब्यान्डले म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ चैत ३० गते १०:५७ मा प्रकाशित

द भाइब्ज ब्यान्डले मूर्ख दिवससँगै रमाइलो गर्ने दिनका रूपमा प्रचलनमा रहेको अप्रिल फुललाई लक्षित गर्दै शनिवार नौलो र रमाइलो म्युजिक भिडियो सार्वजनिक गरेको छ। रक गीत–सङ्गीतको क्षेत्रमा सधैँ केही न केही नयाँ प्रयोग गरेर छोटो समयमै यो विधाको संगीतप्रेमीमाझ लोकप्रियता कमाउन सफल नेप्लिज अमेरिकन ब्यान्ड द भाइब्ज ब्यान्डले फेरि नयाँ प्रयोगका साथ नवीनतम म्युजिक भिडियो तयार पारी सार्वजनिक गरेको हो।
अध्ययन र रोजगारका सिलसिलामा अमेरिका पुगेका युवा संगीतकर्मीहरुले अमेरिकामै स्थापना गरेको यो ब्यान्डले लेट्स गो वाइल्ड काडमाण्डु सिटी बोलको रक गीतको म्युजिक भिडियोमा ब्यान्डका ३ सदस्यलाई नौलो र रोचक ढङ्गले प्रस्तुत गरेको छ ।

ब्यान्डका सदस्यहरू अनुहार नदेखाई रमाइलो नाचगानका साथ प्रस्तुत भएका छन्। भिडियोमा प्रयन सिंह भोकलिस्ट, रूपक लामा लिड गितार र दिरेकलाल श्रेष्ठ ड्रमर रहेको ब्यान्डका प्रयन र रूपकका साथमा अमेरिकामै बस्दै आएका एक युवा सुरुमा विभिन्न जनावरको आकृतियुक्त मास्कका साथ प्रस्तुत हुन्छन्। ब्यान्ड सदस्यहरू गीतको भिडियोभरि फिल्मी हिरोको शैलीमा वाद्यवादनका साथ उफ्री–उफ्री नाच्छन्। मास्क पहिरेका कारण भिडियोमा देखिने ब्यान्ड सदस्यहरू को–को हुन् भनेर चिनिँदैन। दर्शक अब मास्क खोलान् र चिनिएलान् भनेर आशा गर्छन्, तर भिडियोको अन्तसम्म पनि कौतुहतालाई कायम राख्दै ब्यान्ड सदस्यहरू भने मास्कमै प्रस्तुत हुन्छन्। यही रूपमै भिडियो सकिन्छ ।

पहिलो एलबम द भाइब्ज जेनेरेसनबाटै नेपाली साङ्गीतिक आकाशमा तहल्का मचाउन सफल द भाइब्ज ब्यान्डले त्यस्तै आकर्षक गीतहरुका साथ दोस्रो एलबम को हुँ म बजारमा ल्याएको थियो भने तेस्रो एल्बम ल्याउने तयारी गरेको छ।प्रकाशोन्मुख सोही एल्बमको गीतमाथि ब्यान्डले नयाँ भिडियो तयार पारेर सार्वजनिक गरेको हो। द भाइब्जले पहिलो एल्बमस्वरूप द भाइब्ज जेनेरेसन बजारमा ल्याएको थियो। ब्यान्डले नेपाल र अमेरिकाका नेपाली रकप्रेमीद्वारा अत्यधिक रुचाइएको थियो भने एल्बम बजारमा आएकै वर्ष हिट्स एफएम अवार्ड र इमेज अवार्डमा बेस्ट ब्यान्ड अफ द इयरको अवार्ड जित्न सफल भएको थियो ।

 

प्रतिक्रिया