अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०२ | Colorodo: 07:17

डिसी क्षेत्रमा ८ जना महिलाहरू अध्यक्ष, नयाँ किर्तिमान

बिआरटीनेपाल २०७४ असोज २३ गते २२:५४ मा प्रकाशित

गत अक्टोबर ८ तारिख उत्तर अमेरिका कै नेपाली समुदायको सबै भन्दा जेष्ठ गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीको निर्वाचनद्वारा प्रभा भट्टराई देउजा अध्यक्ष पदमा निर्वाचित भएकी छिन् l

उनले अमेरिकाको डिसी महानगर क्षेत्रमा महिला नेतृत्वमा एक ईट्टा थप्दै उनी सहित ८ जना महिलाहरू अध्यक्ष पदमा नेतृत्व गर्न सफल भएका छन् । सम्भवत नेपाली समुदायको इतिहासमा डिसी महानगर क्षेत्रमा सर्वाधिक महिला नेतृत्व लिने राज्य बनी किर्तिमान कायम गर्न सफल भएको छ । यो भन्दा ज्यादा हर्षको कुरा हामी नेपाली केही हुन् सक्दैन ।

महिला सशक्तिकरणको एउटा सशक्त उदाहरण डिसी महानगर बन्न पुगेकोमा यस भेकमा रहने नेपाली समुदायले गर्व गर्नु पर्ने छ । यसबाट के कुरा स्पष्ट भएको छ भएको छ महिला कहिले पनि कुनै कुरामा कम्जोर हुदैनन् र छैनन् पनि । क्षमता र प्रतिभा महिला भित्र निहित हुन्छ । अब समयले फड्को हानी सकेको छ । काल चक्रसँगै सबै कुरा रुपान्तरित हुने निश्चित भएको प्रमाण र उदाहरण ८ जना महिलाले देखाएका छन् l

महिलाहरूले नेतृत्व लिने र हाल मुर्धन्य पदमा बसेका एक दुई संस्था बाहेक सबै मुनाफारहित सामाजिक संस्थामा सबै निर्वाचन प्रक्रियाको माध्यमबाट नेतृत्व लिन सफल भएका छन् । यो सबै नेपालीको लागि हर्षको कुरा भएको छ l अब महिलाहरू घर भित्र र चुला चौकामा सीमित हुने भन्ने भनाई केवल इतिहास मात्र रहन पुगेको अनुभूति हुन् थालेको छ ।

डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई यस विषयमा ज्ञान नहुन पनि सक्छ । नव निर्वाचित अध्यक्ष प्रभा भट्टराई देउजा सहित डिसी क्षेत्रमा नेतृत्व लिने महिलाहरू क्रमशः सीता पाण्डे, बबिता प्रधान श्रेष्ठ, अनु श्रेष्ठ वन्ता, विजया शाह, कमला खरेल, सरोज प्रजापति तथा मंजु संग्रौला रहेका छन् ।

उत्तर अमेरिका कै सबै भन्दा जेष्ठ संस्था अमेरिका नेपाल सोसाइटीकि अध्यक्ष पदमा प्रभा भट्टराई देउजा निर्वाचित भएर चुनिएकी हुन् भने झन्डै ३० वर्ष अगाडी देखि अमेरिकामा नै विद्यालय अध्ययन गरेर विभिन्न सामाजिक संस्थामा आबद्ध रहेर अमेरिका नेपाल सोसाइटीको निर्वाचनमा महिला उम्मेदवार बनी अध्यक्ष पदमा विजयी भएकी हुन् l

यसै गरी अमेरिका ४० वर्ष भन्दा अगाडी अमेरिका आउनु भएकी विजया शाह हाल अमेरिका नेपाल महिला सङ्घ (आन्वा)कि अध्यक्ष पदमा रही नेतृत्व लिई रहनु भएको छ l अमेरिका नेपाल सोसाइटीको पूर्व अध्यक्ष समेत रही काम गरेको उनीसँग अनुभव छ । शाह सर्बसम्मतीबाट निर्वाचित हुनु भएको छ भने महिलाहरूको लागि मात्र स्थापना गरिएको संस्था हो l

भर्जिनिया निवासी तथा समाज सेवी स्वास्थ्य परिचारिका (आरएन) मंजु कार्की संग्रौला हाल दि सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान )कि अध्यक्ष हुनु हुन्छ । लामो समय देखि अमेरिकामा रहदै आउनु भएकी संग्रौला विभिन्न सामाजिक संस्थामा आबद्ध रहनु भएको छ l वहाको पहलमा सान स्थापना भएको हो l

बबिता प्रधान श्रेष्ठ नेवाः अर्गनाइजेसन अफ अमेरिका (एन ओ ए )को अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । १६ वर्ष अगाडी स्थापना भएको नेवाः अर्गनाइजेसन अफ अमेरिका (एन ओ ए )मा लामो समय सम्म काम गरी अन्तत्वगत्वा सर्व प्रथम अध्यक्ष पदमा महिला निर्वाचित हुने वहा हुनु भएको छ । वहा पनि निर्वाचन प्रक्रिया पुरा गरी मुर्धन्य पदमा चयन हुनु भएको हो l

यसै गरी मेरिल्याण्ड राज्यमा २६ वर्ष अगाडी स्थापना भएको नेपा पास पुचः अमेरिकाय (एनपीपी ए ) को अध्यक्ष पदमा नेतृत्व लिने सरोज प्रजापति हुनु हुन्छ । झन्डै ३० वर्ष अगाडी अमेरिका आएर अमेरिका नेपाल सोसाइटीमा समेत विभिन्न पदमा काम गर्नु भएकी प्रजापति एक सफल नेतृत्व प्रदान गर्ने महिला अध्यक्ष हुनुहुन्छ । राजनीतिको गन्ध देखि एक कोष टाढा भाग्न रुचाउने प्रजापति कुरा भन्दा काम गर्न रुचाउनु हुन्छ । वहा पनि निर्वाचित अध्यक्ष हुनु हुन्छ ।

अर्की महिला नेतृत्वको कुरा गर्दा मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना )को अध्यक्ष पदमा अनु श्रेष्ठ वन्ता हुनु हुन्छ । वहा पनि निर्वाचनमा प्रतिस्प्रद्धामा भिडेर निर्वाचित हुनु भएको हो । बानाको इतिहासमा दोस्रो पटक महिला नेतृत्वमा अनु श्रेष्ठ वन्ता निर्वाचित हुनु भएको हो । कुरा भन्दा काम गर्न विश्वास गर्ने अनु अहिले सामुदायिक भवन बनाउन कस्सिनु भएको छ । यसै गरी साहित्यकार, महिला सामाजिक कार्यकर्ता सीता पाण्डे पनि विभिन्न सामाजिक संस्थामा आबद्ध रहनु भएको छ । वहा हाल नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टर नेशनलकि अध्यक्ष हुनु हुन्छ । उक्त संस्थाले खेलकुदका विभिन्न खेलहरू खेलाउने गर्छ भने पाण्डे अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसँग पनि आबद्ध हुनु हुन्छ । वहा संस्थाको संस्थापक अध्यक्ष हुनु हुन्छ l

यसै गरी डिसी क्षेत्रको भर्जिनियाको मनाससमा स्थापित अत्यन्तै सक्रिय संस्था अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस )को अध्यक्ष पदमा कमला खरेल हुनुहुन्छ । स्थापना काल देखि नै क्रियाशील रहेकी खरेल तिज, अन्य चाड पर्व र सामाजिक कार्यमा अहम भूमिका निर्वाह गरी सकेर हाल नेतृत्व प्रदान गरी रहनु भएको छ । एउटा सामुदायिक भवन बनाउने सपना वहाको रहेको छ ।

अब महिलाले नेतृत्व गर्ने क्रम सुरु भएकोले समाजले स्वागत गर्नु पर्छ । प्रोत्साहन गर्नु पर्छ । नारीलाई कम आकलन गर्नु हुन्न । गर्ने पनि हैन l डिसी क्षेत्रमा ८ जना महिला नेतृत्व हुनु भनेको चानचुन कुरा हैन ।

नारी पृथ्वी किन हुन् ? किन पृथ्वीसँग तुलना गरिन्छ । नारी वास्तवमा नै पृथ्वी हुन् । नारीको हृदय विशाल हुन्छ । ममताकी खानी हुन् । उनीसँग सहनशीलता र धैर्यता छ । प्रशान्त महासागर झैँ शान्त स्वभाव भएकै कारण यिनीलाई पृथ्वीसंग तुलना गरिन्छ । सायद यस्तै गुणको कारण समस्त नारीहरूको प्रतिनिधित्व गर्दै डिसी क्षेत्र का ८ वटा संस्थामा महिला ले नेतृत्व लिएका हुन् ।

नारी र पुरुष समान छन् । नारी न त पुरुष भन्दा ठुली छे न पुरुष नारी भन्दा साना छन् । न नारी उच्च छे या न नारी निचा छे किनभने नारीको आफ्नै आत्म सम्मान र पृथक् पहिचान छ । उ बिना त जीवनको चक्र नै चल्दैन । भनिन्छ जुन घरमा नारी हुदैनन् त्यो घरमा भगवानले पनि बास गर्दैनन् ।

नारी रूपमा हामीले कैयौ ईश्वरको रूपमा पुज्दछौ । हिन्दु धर्म शास्त्र अनुसार पौराणिक कालमा गार्गीले त्यस समयका प्रकाण्ड विद्वान र ऋषि मुनिहरुलाई तर्क र विवेकले हराएको बिबेचना गरिएको छ । नारी स्नेह कि खानी, सहनशीलता कि साक्षात देबीकि रूप हुन् ।

मुलकुमा नारी हकहित सम्बन्धी अधिकासं कानुन र नियम निर्माण भई सके पनि व्यवहारिक रूपमा कम्जोर छ l अझ पनि नारीलाई हेर्ने दृष्टिकोणमा आकाश जमिनको फरक आएको छैन । नारी प्रति पुरुषको सद्भाव र श्रदा सदैव उच्च रहनु पर्छ l किनभने नारी कसैको छोरी, कसैको बुहारी र कसैको आमा र कसैको दिदी तथा बहिनी हुन्छिन । नारी एक अभिभावक पनि हुन् ।

नारीको मूल्याङ्कन असीमित छ र उच्च छ । नारी प्रति देखाउनु पर्ने सद्भाव र श्रदाको खडेरी लागेको छ । जब सम्म पितृसत्तात्मक समाज भन्ने सोच र चिन्तनको अन्त्य गर्न सबै समाज एक ढिक्का हुदैनन् तब सम्म नारीहरूलाई हेर्ने दृष्टिकोण तुलनात्मक रूपमा परिवर्तन हुँदैन । जब सम्म महिलालाई शिक्षित र आर्थिक रूपमा सशक्तिकरण गरिने वातावरणको सिर्जना गरिदैन ,तब सम्म महिला सशक्तिकरणको मूल ढोका पुरै नखुल्ने हुन्छ ।

प्रतिक्रिया