अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४६ | Colorodo: 01:01

जापानका सम्राट नारुहितोद्धारा राजगद्दी आरोहण

बिआरटीनेपाल २०७६ कार्तिक ५ गते ९:११ मा प्रकाशित

जापानका सम्राट नारुहितोले भव्य समारोह बीच राजगद्दी आरोहण गर्नुभएको छ । गत मे मा तत्कालीन सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो मे महिनामा जापानको सम्राट बन्नुभएको थियो । टोकियोमा परम्परागत विभिन्न विधि सम्पन्न भएपछि ५९ वर्षिय नारुहिताले औपचारिक रूपमा राजगद्दी आरोहण गर्नुभएको हो ।

गद्धी आरोहणका क्रममा परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे ६ मिटर अग्लो ताकामिकुरा राजगद्दीमा बस्नुभएको थियो । त्यसपछि लिखित मन्तव्य वाचन गर्दै नारुहितोले राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा उत्तरदायित्व वहन गर्न संविधानअनुसार काम गर्ने शपथ लिएको बताउनुभयो ।

पूर्वसम्राट अकिहितो पनि छोराको राजगद्दी आरोहण समारोहमा उपस्थित हुनुहुन्थ्यो । समारोहमा जापानको राजकीय शक्तिको संकेतका रूपमा लिइने प्राचीन तरबार र रत्न पनि राखिएको थियो । जापानमा हालै आएको शक्तिशाली समुद्री आंधीका कारण ठूलो धनजनको क्षति भएकाले पीडितहरूप्रति सहानुभूति प्रकट गर्न शोभायात्रा भने स्थगित गरिएको छ ।

प्रधानमन्त्री शिन्जो आबेले सम्राट नारुहितोलाई बधाई ज्ञापन गरेपछि उहाँको नेतृत्वमा उपस्थित मानिसहरूले ‘सम्राट चिरायु रहुन्’ भन्दै नारा लगाएका थिए । संवैधानिक राजतन्त्र रहेको जापानमा सम्राटको भूमिका आलङकारिक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू