अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

न्यूह्याम्पसर खुला टेनिसको उपाधि गुरुङलाई

बिआरटीनेपाल २०७६ असोज ९ गते ९:४९ मा प्रकाशित

न्यूह्याम्पसर राज्यमा स्थापित एक मात्र नेपालीभाषीहरुको छात्रा सङ्गठन न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता २०१९ (पुरुष सिंगल्स) को उपाधि दिनेश गुरुङले जितेका छन् ।

आइतबार सम्पन्न फाइनल खेलमा मनिष हुमागाईँलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै गुरुङले सिङ्गल्सतर्फको उपाधि हासिल गरेका हुन् । यस्तै प्रतियोगिताको डबल संस्करणमा हर्क गुरुङ र रिकाश गुरुङको जोडी विजयी भएको छ । उनीहरूले फाइनलमा किरण हुमागाईँ र मनिष हुमागाईँको जोडीलाई ६–३, ४–६ र ६–४ को अन्तरमा पराजित गरेका हुन् ।

एक सातासम्म चलेको प्रतियोगीको सिंगल्स तर्फ १७ जना र डबल तर्फ नौ जोडी खेलाडीले भाग लिएका थिए । राज्यको म्याम्चेष्टर स्थित टेनिस कोर्टमा सम्पन्न प्रतियोगिताका विजयी एवं सहभागी खेलाडीलाई फाइनल खेलपछि आयोजित समारोहमा न्यूह्याम्पसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले ट्रफी एवं प्रमाणपत्र वितरण गरे । यसै गरी प्रतियोगिताको अवधिभर एम्पायरको भूमिका निर्वाह गर्ने हेमेन्द्रध्वज खड्का, वीर शाह, रविन थापा, गोविन्द गुरुङलाई प्रमाणपत्र एवं मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष गुरुङले खेल मार्फत राज्यमा बसोबास गर्ने नेपालीभाषीहरुमा भाइचारा अभिवृद्धि गर्ने समाजको अभियानबारे चर्चा गरेका थिए । ‘हामीले हरेक वर्ष फुटबल, टेनिस लगायतका खेलकुद प्रतियोगिता आयोजना गरिरहेका छौँ, उनले भने ‘यसले न्यूह्याम्पसर मात्र नभई अन्य छिमेकी राज्यमा बसोबास गर्ने नेपालीभाषीहरुबीच पनि आत्मीयता र भाइचारा बढाइ रहेको अनुभव गरेका छौँ ।’ टेनिस प्रतियोगितामा बर्सेनि बढ्दो सहभागिताले नेपालीहरूले आफ्नो समुदायमा मात्र नभई अरू खुला प्रतिस्पर्धामा पनि छिटै आफ्नो पहिचान स्थापित गर्ने विश्वास आफूले लिएको उनको भनाइ छ ।

प्रतियोगितामा राज्यका विभिन्न ठाउँहरूमा बसोबास गर्ने विभिन्न उमेर समूहका पुरुषहरूको सहभागिता रहेको थियो । ‘सहभागीहरूको सङ्ख्या बर्सेनि बढ्दो छ’ विगत केही वर्षदेखि खेलकुद प्रतियोगिताको संयोजन गर्दै आएका न्यूह्यामसर नेपाली समाजका महासचिव माधव गुरुङले भने ‘नयाँ पीढिका भाइबहिनीहरूले पनि टेनिस खेलप्रति उत्साहजन सहभागिता जनाउँदै आएका छन् ।’

प्रतिक्रिया