अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४७ | Colorodo: 12:02

नेपाली नागरिक विपीन थापा १० करोड अस्ट्रेलियन डलरको अवैध कारोवार प्रकरणमा पक्राउ

बिआरटीनेपाल २०७६ साउन १४ गते ७:५६ मा प्रकाशित

२९ वर्षीय नेपाली नागरिक विपीन थापा करिब १० करोड अस्ट्रेलियन डलर अवैध रकम कारोबारमा मुछिएका छन् । सोही अभियोगमा उनलाई अस्ट्रेलियन प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने अन्य व्यक्तिहरूमा ३० वर्षीय गगनदीप फावा र उनका पार्टनर ३० वर्षीय गोपाली दल र ३१ वर्षीय मनमिन्दर सिंह रहेका छन्। उनीहरूलाई अस्ट्रेलियन प्रहरीले गत बिहीबार २५ जुलाईमा पक्राउ गरेको थियो।

त्यसैगरी ३० वर्षीय नितिन कपिलालाई प्रहरीले गत शुक्रबार २६ जुलाईका दिन एयरपोर्टबाट भाग्ने क्रममा पक्राउ गरेको थियो। गगनदीप फावा नाइके रहेको यो समूहले तीनदेखि चार वर्षको अवधिमा ८ देखि १० करोड अष्ट्रेलियन डलरको अवैध रकमको कारोबारका साथै हुण्डी कारोवार गरेको भेटिएको प्रहरीलाई उद्धृत गर्दै अष्ट्रेलियन सञ्चार माध्यमले जनाएका छन्।

सिड्नी मर्निङ हेराल्डका अनुसार यो समूहले दक्षिण–पश्चिम सिड्नीमा ‘एस्योर प्रोटेक्सन सर्भिसेस’ नामक सेक्युरिटी कम्पनीको खोल ओढेर अस्ट्रेलिया भित्र तथा बाहिरका आपराधिक समूहबाट अवैध पैसा लिएर विभिन्न बैंकहरूमा जम्मा गरेर फेरि ती आपराधिक समूहलाई पैसा दिँदै आएका थिए।

प्रहरीका अनुसार गत वर्षको डिसेम्बर १७ तारिखमा सो समूहका सदस्यले एकै दिनमा सिड्नीको फ्लेमिङटन र कन्कोर्डस्थित बैंकहरूमा ९ पटकसम्म गरी जम्मा ४ लाख ४५ हजार अस्ट्रेलियन डलर जम्मा गरेका थिए। प्रहरीले सो कम्पनी दर्ता भएको ठाउँमा छापा मार्दा ४ लाख अस्ट्रेलियन डलर नगद, पैसा गन्ने मेसिन तथा तीन वटा सवारी साधनसमेत बरामद गरेको छ । देखाउनका लागि सेक्युरिटी व्यापारको कम्पनी खडा गरी भित्रि रुपमा ठूलो रकमको अवैध कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका थापालाई स्थानीय पारामाटा लोकल कोर्टमा उपस्थित गराइएको थियो। उनले जमानतको लागि निवेदन दिएका थिएनन्। उनी पुनः आगामी सेप्टेम्बर १२ तारिखमा पारामाटा लोकल कोर्टमा उपस्थिति हुने बताइएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र आगामी दिनमा अरू केही व्यक्तिहरू पक्राउ पर्न सक्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू