अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

साउदीको जेलमा रहेका नेपाली मध्ये झण्डै ८५ प्रतिशतलाई जाँडरक्सीको मुद्दा

बिआरटीनेपाल २०८० माघ २९ गते ५:०० मा प्रकाशित

रोजगारीका लागि साउदी अरब पुगेका बेला जेल परेका नेपालीमध्ये धेरैजसोलाई जाँडरक्सी खाएको तथा उत्पादन गरेर बिक्री गरेको आरोप लाग्ने गरेको पाइएको छ ।अहिले साउदीको जेलमा चार सय ८० जना भन्दा धेरै नेपाली जेलमा रहेका र उनीहरु मध्ये झण्डै ८५ प्रतिशत जाँडरक्सी खाएको तथा ओसारपसार र उत्पादनको कसुरमा जेल परेका पाइएको साउदीमा रहेको राजदूतावासका प्रथम सचिव टोपनारायण गिरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

साउदीमा जाँडरक्सी उत्पादन, बिक्री तथा उपभोगमा प्रतिबन्ध छ । केही समय अघि कुटनीतिक कर्मचारीका लागि जाँडरक्सी बिक्री खुल्ला गरेको भए पनि त्यो सर्वसाधरणको पहुँचमा छैन । कतिपय नेपालीहरुले कम समयमा धेरै कमाउन पाइने भएकोले घरेलु रक्सी उत्पादन गरेर बेच्ने पाइएको छ । नेपालबाट पिठोमा मिसाएर रक्सी बनाउने मर्चा लैजाने र साउदीमा चामल, गहुँ, खजुर लगायत प्रयोग गरेर रक्सी बनाउने गरेको पाइएको छ । कैयौँ नेपालीहरु जेल परिसक्दा पनि रक्सी बनाउने कामलाई निरुत्साहित गर्न नसकिएको गिरीले बताउनुभएको छ ।

कामदारहरु अरबमा जानु अघि दिइने अभिमुखीकरणमा रक्सीको प्रयोग तथा उत्पादन र ओसारपसारबारे जानकारी दिने गरेको भए पनि त्यहाँ पुगेपछि धेरै नेपाली त्यही मुद्दामा पक्राउ पर्ने गरेका छन् । जाँडरक्सीको मुद्दामा साउदीमा नेपालीहरुलाई केही महनादेखि सात वर्ष सम्मको जेल सजाय हुने गरेको छ । साउदीमा झण्डै चार लाख नेपाली रोजगारीको लागि रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू