अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

फ्रान्सेली योजनाबारे अनुसन्धान गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश

बिआरटीनेपाल २०७६ असार २६ गते ८:०४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्टरनेट तथा प्रविधि कम्पनीहरूमाथि कर लगाउने फ्रान्सेली योजनाबारे अनुसन्धान गर्न आदेश दिनुभएको छ । अमेरिकी व्यापार प्रतिनिधि रोवर्ट लाइट्नरले अमेरिकी कम्पनीहरूविरुद्ध अन्यायपूर्ण रूपमा लक्षित डिजिटल सेवा करप्रति अमेरिकाको निकै चासो रहेको बताउनुभयो ।

फ्रान्सको संसद्ले नयाँ करसम्बन्धी विधेयक आज अनुमोदन गर्ने अपेक्षा गरिएको छ । जसअनुसार गुगल र फेसबुकजस्ता कम्पनीले फ्रान्सभित्र गर्ने मुनाफामा तीन प्रतिशत कर लगाइनेछ । त्यो लागु भएमा फ्रान्सले यही वर्ष करिब ४० करोड युरो संकलन गर्ने अनुमान गरिएको छ । ७५ करोड युरोभन्दा बढी कमाउने र त्यसमध्ये साढे दुई करोड युरो फ्रान्सभित्र मुनाफा गर्ने कुनै पनि डिजिटल कम्पनीमाथि नयाँ कर लाग्नेछ ।

अनुसन्धानपछि फ्रान्सेली करको बदलामा अमेरिकाले पनि उसमाथि कर लगाउने अथवा नलगाउनेबारे टुङ्गो लाग्नेछ । यसअघि पनि ट्रम्पले धेरै पटक कर लगाइसक्नु भएको छ । वाशिङटनले गरेका अनुसन्धानपछि युरोपेली युनियन र चीनमाथि कर लगाइएको थियो । फ्रान्सबाहिर मुख्यालय हुँदैमा कुनै पनि कम्पनी कर तिर्नबाट उम्किन पाउन नहुने फ्रान्सेली सरकारको तर्क छ । चिनियाँ, जर्मन, स्पेनी र बेलायती कम्पनीहरू पनि नयाँ व्यवस्थाबाट प्रभावित हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू