प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नका लागि २०७६ साल उपलब्धिमूलक हुने बताउनुभएको छ । नयाँ वर्षको अवसरमा सरकारी निवास बालुवाटार परिसरबाट आज बिहान देशबासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले राज्यको सम्पत्ति दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन थालिएकोले यो वर्षमा राज्यविरुद्धका अनैतिक कामहरूको अन्त्य गर्न सरकार लागि पर्ने बताउनुभयो ।
सीके राउत नेतृत्वको समूहतर्फ सङ्केत गर्दै उहाँले विखण्डनको माग गर्ने समूहलाई मूल राजनीतिमा ल्याउनु पनि अघिल्लो वर्षको मुख्य उपलब्धि हो भन्नुभयो । सबैखाले अतिवाद, अशान्ति, आतङ्क र गडबडीबाट मुलुकलाई छिट्टै मुक्त गराइनेमा जोड दिँदै लामो द्वन्द्व र सङ्क्रमणकाल अन्त्य गरेर स्थायित्वको बाटोमा हिँड्न लागेको मुलुकमा अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य हुन नसक्ने उल्लेख गर्नुभयो ।
अवाञ्छित प्रतिगामी प्रयास र संविधान विरोधी गतिविधि कडाइका साथ नियन्त्रण गरिने जानकारी दिँदै प्रधानमन्त्रीले यसलाई बुझेर पनि बुझ पचाउने काम नगर्न, राजनीतिक रङ्ग दिएर हिंसालाई उचित नठहर्याउन र यस सम्बन्धमा दोहोरो मापदण्ड र लोकरिझ्याइँको बाटो नअपनाउन आग्रह गर्नुभयो ।