अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४९ | Colorodo: 05:04

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा हुने शिखर वार्ताको सुरक्षाको जिम्मा गोर्खा सैनिकले पाउने

बिआरटीनेपाल २०७५ जेठ २२ गते १०:३६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच जेठको अन्तिम साता सिंगापुरमा हुने शिखर वार्ताको सुरक्षाको जिम्मा गोर्खा सैनिकले पाउने भएका छन्।

दुबै नेता बस्ने होटल, शिखर वार्ता स्थल,सडकलगायतका ठाउँको सुरक्षाको जिम्मा गोर्खाली फौज भएको गोर्खा कन्टिनेण्टलाई दिइएको सिंगापुरका एक सरकारी अधिकारीले जानकारी दिएका छन्।

रोयटर्सका अनुसार बेल्जियममा बनेको एसल्ट राइफल, पेस्तोल र खुकुरीसहित गोर्खा कन्टिनेण्टमा रहेका गोर्खाहरुले सम्मेलनस्थलको सुरक्षा गर्नेछन्।

‘सिंगापुरकोतर्फबाट दिइने सुरक्षाको लागि गोर्खा नै सबैभन्दा उत्कृष्ट हुन्’, सिंगापुरको रक्षा मन्त्रालयबारे जानकार इन्टरनेसलन इन्ष्टिच्यूट फर स्ट्राटेजिक स्टडिजका टिम हक्सलेले भनेका छन्, ‘ अग्रपंक्तिको सुरक्षामा गोर्खा अब्बल र स्पेसल अपरेसनको लागि पोख्त छन्। त्यसैले, यस्तो कार्यक्रमका लागि उनीहरु नै उपर्युक्त हुन्।’

यद्यपि, सिंगापुर प्रहरीका प्रवक्ताले भने सुरक्षाको लागि गोर्खाली खटाइने÷नखटाइने र उनीहरुको संख्याबारे केही बताएका छैनन्।

अहिले सिंगापुर पुलिसको ६ वटा प्यारामिलिटरी कम्पनीमा करिब १ हजार ८ सयजति गोर्खा कार्यरत छन्। केही समय अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी रक्षामन्त्री जिम म्याटिस सांग्रिला होटलमा जाँदा गोर्खाहरुले उनीहरुलाई पनि सुरक्षा प्रदान गरेका थिए ।

क्षेत्रीय असन्तुलनका बेला उनीहरुले नै सिंगापुरका विद्यालयको सुरक्षाको जिम्मा लिन्छन् भने मलेसिया–सिंगापुरको सीमामा पनि गोर्खा नै देखिन्छन्।

सिंगापुर पुलिसको वेबसाइटमा गोर्खालाई ‘खतरनाक, चतुर अनि बफादार’भनेर चिनाइएको छ। सिंगापृुर पुलिसमा संलग्न गोर्खाहरु सहरको बाहिर रहेको माउण्ट भर्नोन क्याम्पमा परिवारसहित बस्ने गर्छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू