प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध धर्मको उद्गमस्थलका रूपमा विश्वसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले त्यसका लागि अध्ययन, अनुसन्धान तथा विज्ञहरू सक्रियतापूर्वक बुद्ध दर्शन तथा बौद्ध साहित्यको प्रचारप्रसारमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा दुई दिनसम्म चलेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रूपमा विकास गर्न चाहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बुद्ध दर्शन तथा यसमा इच्छा, विश्वास तथा लगाव राख्ने सबै मानव जातिका लागि पवित्र पुण्यस्थल बनाउने बताउँदै विश्वलाई अँध्यारोबाट हटाउनका लागि बुद्ध र बुद्धको दर्शनले महत्त्वपूर्ण टेवा पुर्याएको समेत बताउनुभयो । यस क्षेत्रको समग्र विकासका लागि विश्व समुदायको सहयोग आवश्यक रहेको भन्दै उहाँले आउँदा दिनमा सबै क्षेत्रको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै पुरातत्व क्षेत्रको उत्खनन र संरक्षणमा लाग्दै बृहत्तर लुम्बिनीलाई अगाडि बढाइने बताउनुभयो ।