अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४४ | Colorodo: 20:59

युक्रेनको विषयमा अमेरिका र रुसका विदेशमन्त्रीबीच वार्ता, रुसले हमला गरे अमेरिकाले जवाफ दिने अडान कायमै

बिआरटीनेपाल २०७८ माघ ८ गते ७:३६ मा प्रकाशित

युक्रेनको विषयमा बढ्दै गएको तनाव कम गर्ने प्रयास स्वरुप अमेरिका र रुसका विदेशमन्त्रीबीच वार्ता भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच युक्रेनको विषयमा भइरहेको तनाव कम गर्ने विषयमा स्पष्ट वार्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । रुसले युक्रेनसँगको सीमा नजिक झण्डै एक लाखको हाराहारीमा आफ्ना सैनिक तैनाथ गरेको छ ।

त्यस्तै रुसले युक्रेनमा सैन्य आक्रमणको तयारी गरेको अमेरिको आरोप छ । तर रुसी विदेशमन्त्री लाभरोभले सीमामा सैनिक तैनाथ गर्नु युक्रेनमाथि आक्रमणका लागी नरहेको दावी गर्नु भएको छ । अमेरिकी विदेशमन्त्री ब्लिंकनले युक्रेनमाथि रुसले कुनै पनि प्रकारको सैन्य हमला गरेमा अमेरिकाले गम्भीर जवाफ दिने बताउनु भएको छ ।

युक्रेनको पूर्वी क्षेत्रको ठूलो भाग रुस समर्थित विद्रोही समूहको नियन्त्रणमा रहेको छ । विगत ८ वर्षदेखि सो क्षेत्र ती विद्रोहीको नियन्त्रणमा रहेको हो । रुसले उनीहरुलाई सहयोग गर्दै आएको आरोप लगाएको छ । पूर्वी युक्रेनमा ८ वर्षअघि भएको युद्धका क्रममा करिब १४ हजार मानिसको ज्यान गएको थियो भने कम्तीमा २० लाख मानिस बिस्थापित भएका थिए ।

अमेरिका र उसका सहयोगीहरुले रुसले युक्रेनमाथि सैन्य गतिविधि गरेमा नयाँ प्रतिबन्ध लागू गर्ने चेतावनी समेत दिएका छन् । अमेरिकाले आफ्नो धारणा कागजी रुपमा स्पष्ट गर्ने छ र अर्को हप्ता थप वार्ता हुने जनाइएको छ । युक्रेनसँगको सीमा क्षेत्रमा झण्डै एक लाख सैनिक तैनाथ गरेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रसँग युक्रेनलाई नेटोमा सामेल हुनबाट रोक्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू