अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

गण्डकी प्रदेशको काेभिड केन्द्रीत नीति तथा कार्यक्रम सार्वजनिक, यौन हिंसामा परेकालाई उच्च शिक्षा निःशुल्क

बिआरटीनेपाल २०७८ जेठ ३१ गते ७:२३ मा प्रकाशित

गण्डकी प्रदेश सरकारले कोरोना विरुद्धको खोपलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएको छ । संघ सरकारले गर्ने खोप व्यवस्थापनमा प्रदेश सरकारले पनि समन्वय गर्ने नीति तथा कार्यक्रममा समेटेको छ । सोमबार आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम ल्याउँदै प्रदेश सरकारले कोरोना संक्रमण कम गराउन खोप नै अत्यावश्यक भएकोले प्राथमिकता दिएको बताएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले कोरोना संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री र उपकरण खरिद गर्ने पनि नीति लिइएको जानकारी दिनुभयो ।

कोरोना संक्रमणका कारण अभिभावक गुमाएका बालबालिकालाई नगद राहत उपलब्ध गराउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै कोरोना संक्रमितको उपचारको क्रममा कुनै स्वास्थ्यकर्मीको ज्यान गएमा उनीहरूका आश्रित परिवारलाई पनि राहत दिने नीतिमा समेटिएको छ ।कोरोनाका कारण उत्पादन तथा रोजगारी गुमाएको अवस्थामा रोजगारी सिर्जना गर्ने गरी व्यवसायलाई पुरानै लयमा फर्काउन निव्र्याजी कर्जा उपलब्ध गराउन जीवन रक्षा कोषलाई निरन्तरता दिने पनि नीतिमा समेटिएको छ ।

लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताल स्तरोन्नति गर्दैै सुविधा सम्पन्न बनाउने तथा त्यसलाई कोरोनाको मात्र नभई अन्य सरुवा तथा संक्रामक रोगका लागि पनि विशेष अस्पताल बनाइने विषय नीतिमा समेटिएको छ । त्यसैगरी गर्भवती र सुत्केरीको घरघरमा स्वास्थ्यकर्मी पठाएर परीक्षण गराउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।प्रदेश सरकारले वातावरणीय प्रभाव मूल्याङ्कन गरी ढुङ्गा, गिटी र बालुवा उत्खनन, उपयोग र व्यवस्थापनका लागि वातावरण मैत्री बनाउन आवश्यक समन्वय गरिने जनाएको छ ।गण्डकी प्रदेश सरकारले नारायणी नदीमा ‘बिच पार्क’ बनाउने भएको छ । प्रदेशका धार्मिक सम्पदाहरू जोड्न धार्मिक पथ बनाइने प्रदेश प्रमुख पौडेलले बताउनुभयो । भद्रपुर, सीमरा, जनकपुर, जुम्ला र धनगढीमा सिधा हवाइ सेवा सञ्चालन गर्न निजी क्षेत्रलाई सहजीकरण गरिने जनाइएको छ ।

धौलागिरी संरक्षण क्षेत्रको सम्भाव्यता अध्ययन गरिने प्रदेश प्रमुख पौडेलले बताउनुभयो । बिदा पर्यटन कार्यक्रमले निरन्तरता पाउने भएको छ । नवलपुर, तनहुँ र कास्कीमा एकएक वनपैदावर आधारित उद्योग निर्माण गरिने कार्यक्रम छ ।जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिने नीति प्रदेश सरकारले लिएको छ । मुस्ताङ, मनाङ र उत्तरी गोरखामा वृक्षारोपणलाई निरन्तरता दिइने जनाइएको छ । गण्डकीको तल्लो तटबाट हिमालसम्म फैलिएको स्रोत, विविधता, प्रजातिको अभिलेखिकरणका लागि वायो डाइभर्सिटी प्रोफाइल बनाइने कार्यक्रम प्रदेश सरकरको छ । मुस्ताङमा कस्तुरी संरक्षणका लागि केन्द्र स्थापना गरिने भएको छ ।

गण्डकीका युवायुवतीलाई विज्ञानसँग जोड्न विज्ञान सम्मेलन आयोजना गरिने भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशमा विज्ञान सम्मेलन आयोजना गरिने बताउनुभएको छ । प्रदेशमा खेलकुद विकासका लागि एक पालिका एक खेल मैदान कार्यक्रमले निरन्तरता पाउने जनाइएको छ । खेलकुद विकासका लागि विपि खेल ग्राम गैंडाकोटमा निर्माण गर्ने नीति लिएको छ ।

जग्गा चक्लाबन्दी कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । म्याग्दी, तनहुँका गुठी जग्गामा रहेका समस्या समाधान गरिने प्रदेश सरकारको योजना छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटु, मिर्गौला र क्यान्सर रोगको उपचार व्यवस्था गरिने जनाईएको छ ।मध्यविन्दू अस्पताल र लमजुङ जिल्ला अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गर्ने कार्यक्रम रहेको बताइन् । महिलाको स्तन, पाठेघर क्यान्सर तथा आङखस्ने समस्या भएकाहरुको तथ्यांक संकलन गरी निःशुल्क उपचारको व्यवस्था गरिने जनाइएको छ ।

पोखरामा ट्रमा सेन्टर स्थापना गरिने प्रदेश प्रमुख पौडेलले बताउनुभयो । यौन हिंसामा परेकालाई व्यावसायिक शिक्षा र उच्च शिक्षा निःशुल्क दिइने नीति सरकारको छ ।कोभिड खोपको व्यवस्थापनका लागि प्रदेशले केन्द्रसँग समन्वय गर्ने नीति गण्डकी प्रदेश सरकारले लिएको छ । । कोभिड संक्रमितको उपचारका लागि औषधी व्यवस्था गरिने, अभिभावक गुमाएका बालबालिकाका लागि उचित व्यवस्थापन गरिने कार्यक्रम लिएको छ । आफन्त गुमाएकाहरुलाई आर्थिक राहत दिइने जनाइएको छ । व्यवसाय जीवन रक्षा कोषलाई निरन्तरता दिइने बताइन् ।

संक्रामक तथा सरुवा रोग अस्पताललाई सबै प्रकारका सरुवा रोगको उपचार केन्द्र र सेन्टर अफ अक्सिजनको रुपमा विकास गरिने जनाइएको छ । यस्तै नवजात शिशु र गर्भवती महिलाको उद्दारका लागि एअर लिफ्टिङ सेवालाई निरन्तरता दिने कार्यक्रम प्रदेश सरकारको छ । पूर्ण खोप प्रदेश कार्यक्रमले निरन्तरता पाउने भएको छ ।५० शय्याका सबै अस्पतालमा आँखाको उपचार र जेष्ठ नागरिकको उपचार वार्ड सञ्चालन गरिने जनाइएको छ । डायलाइसिस सेवा गुणस्तरीय बनाउने नीति प्रदेश सरकारको छ । स्वास्थ्य बीमा, सरकारको जिम्मा कार्यक्रम अन्तर्गत बीमा गर्न छुटेकालार्य समावेश गरिने सरकारको नीति छ । जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई प्रतिष्ठानको रुपमा विकास गर्न पहल गरिने प्रदेश प्रमुख पौडेलले बताउनुभयो ।

प्रदेश शिक्षा नीति बनाइने र गण्डकी विश्वविद्यालयको भवन निर्माणलाई निरन्तरता दिइने जनाइएको छ । माध्यमिक तह परीक्षा सञ्चालन योजना, शैक्षिक योजना बनाउने, मातृभाषाको पाठ्यक्रम विकास गर्न स्थानीय तहसँग समन्वय गरिने पौडेलले बताउनुभयो ।सामुदायिक क्याम्पसहरुमा प्राविधिक विषय पढाइने नीति सरकारको छ । माध्यमिक विद्यालयमा विज्ञानको गुणस्तर वृद्धिका लागि पूर्वाधार बनाइने जनाइएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा आवासीय विद्यालय बनाउने नीति लिइने पौडेलले बताउनुभयो ।

प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका फ्रन्टलाइनरका परिवारलाई नगद राहत दिने जनाएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा कोभिड–१९ को संक्रमणका कारण बाबु वा आमा गुमाएका बालबालिकाहरुलाई र संक्रमणका कारण जीवन गुमाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका आम नागरिकका परिवारलाई नगद राहत उपलब्ध गराइने उल्लेख छ । गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको बनेको नयाँ सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू