अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१६ | Colorodo: 07:31

कोरोना विरुद्धको चिनियाँ खोप ’मध्य–चरण परीक्षणमा सफल’, आफ्ना चारवटै खोप अन्तिम तयारीमा पुगेको चीनको दाबी

बिआरटीनेपाल २०७७ मंसिर ३ गते ५:५३ मा प्रकाशित

चीनले विकसित गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको एउटा खोपले ’मध्य चरणमा सफलता पाएको’ अनुसन्धानकर्ताले बताएका छन् ।सिनोभ्याक बायोटेक नामको समूहले तयार पार्दै गरेको खोपले सात सय जना मानिसमा गरिएको परीक्षणका बेला तीव्र रोग प्रतिरोधी प्रतिक्रिया उत्पन्न भएको बीबीसीले जनाएको छ । चीनमा अहिले विभिन्न खोपहरू तयार गरिँदैछ र तीमध्ये केही खोप मानिसहरूलाई लगाइ पनि सकिएको छ ।

अमेरिका तथा युरोपेली देशहरूले खोपमा सफलता पाएको खबरहरू सार्वजनिक भइरहँदा बाँकी विश्वले चीनबारे चासो राखिरहेको थियो । यही बेला चीनले पनि खोपमा पाएको सफलता सार्वजनिक गरेको हो । अमेरिका, जर्मनी र रुसमा विकास गरिएका तीन वटा खोपहरूको दशौँ हजारमा गरिएको परीक्षणमा ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको बताइएको छ ।

चीनमा महामारी धेरै हदसम्म नियन्त्रणमा आएको बताइरहँदा चीनमा विकास भइरहेका चार वटा खोपहरूको ठूलो स्तरको परीक्षण पाकिस्तान साउदी अरेबिया, रुस, इण्डोनेसिया र ब्राजिलमा भइरहेको छ । ती खोप ६० हजारभन्दा धेरै मानिसले लगाइसकेको बीबीसीले जनाएको छ ।चीनमा कम्तीमा तीन वटा खोप एउटा आपत्कालीन योजनाअनुसार अत्यावश्यक सेवाका कर्मचारीहरूलाई दिइसकिएको छ भने एउटा खोप गएको जुन महिनामा नै चिनियाँ सेनाका लागि प्रयोग गर्न अनुमति दिइएको थियो ।

एक वर्षअघि पहिलो पटक चीनमा देखा परेको कोरोना भाइरसले अहिलेसम्म विश्वका ५ करोड ५९ लाख ६७ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा १३ लाख ४३ हजार ९ सयभन्दा धेरैको ज्यान गइसकेको छ । ३ करोड ८९ लाख ७७ हजारभन्दा धेरै सङ्क्रमित निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू