अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

अमेरिकामा प्रदर्शनकारीमाथि ट्यांकर चलाईयो

बिआरटीनेपाल २०७७ जेठ १८ गते २२:०० मा प्रकाशित

अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा एक चालकले ट्यांकर ट्रक प्रदर्शनकारीको भिडमा चलाएका छन्। समाचार संस्था रायटर्सले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै चालकले ट्रक प्रदर्शनकारीको भिडमा चलाएको उल्लेख गरेको छ । यो घटना मिनियापोलसको अन्तरराज्य राजमार्ग ३५ वेष्टमा भएको हो । ड्राइभरले ट्रक चलाए पनि प्रदर्शनकारी भागेर चोटबाट जोगिन सफल भएका छन् । घटनापछि प्रदर्शनकारीले ड्राइभरलाई ट्रकबाट बाहिर निकाली कुटेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।ती प्रदर्शनकारीले प्रहरी हिरासतमै अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्यु भएको विरोधमा प्रदर्शन गरिरहेका छन्।

मिनियापोलससहित अमेरिकाका विभिन्न शहरमा विगत केही दिनदेखि फ्लोइडको हत्याको विरोधमा प्रदर्शन भइरहेको छ । केही स्थानमा प्रदर्शनले हिंसात्मक रुप लिएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मी्बिच झडप भएका छन् । केही स्थानमा लुटपाट तथा आगजनी समेत भएको छ । अवस्था नियन्त्रणमा लिनका लागि विभिन्न शहरमा कर्फ्यू लगाइए पनि प्रदर्शन नियन्त्रणमा आउन सकेको छैन ।

फ्लोइडको हत्या आरोपमा मिनियापोलस प्रहरीका एक पूर्व अधिकारीलाई पक्राउ गरी अभियोग दर्ता भइसकेको छ । गएको सोमबार ती प्रहरी अधिकारीले ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा उनको घाँटीमा घुँडाले थिचेका थिए । फ्लोइडले ‘मलाई सास फेर्न गाह्रो भयो’ भन्दा पनि ती प्रहरी अधिकारीले घाँटीबाट घुँडा हटाएका थिएनन् । पछि हिरासतमै फ्लोइडको निधन भयो । प्रहरीले उनको घाँटी थिचेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि मिनेशोटाको मिनियापोलस प्रहरीले चार अधिकारीलाई बर्खास्त गरेको थियो ।

बर्खास्त गरिएका मध्ये फ्लोइडको घाँटी घुँडाले थिच्ने प्रहरी अधिकारी पक्राउ परेका हुन् । पक्राउ पर्ने पूर्व प्रहरी अधिकारी ४६ वर्षका डेरेक चुभन हुन् ।यसैबिच मृतक फ्लोइडको परिवारको तर्फबाट वकालत गरिरहेका एक वकिलले प्रहरी अधिकारीले फ्लोइडको हत्या जानेरै गरेको अभियोग लगाएका छन् । चुभनमाथि ‘थर्ड–डिग्री मडर’ को अभियोग दर्ता भएको छ । तर फ्लोइड परिवारका वकिल बेन्जामिन क्रुम्पले सिबिएस न्यूजसँगको अन्तर्वार्तामा चुभनले जानेरै हत्या गरेको भन्दै ‘फस्ट–डिग्री मडरको अभियोग अनुसार कारवाही प्रक्रिया अघि बढ्नु पर्ने बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू