अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२ | Colorodo: 05:37

कोभिड १९ सङ्क्रमणको अर्को चरणको कल्पना नै नगरि थप सचेत रहन बिज्ञहरुको सुझाव

बिआरटीनेपाल २०७६ चैत २२ गते २२:२९ मा प्रकाशित

कोरोना भाइरस अर्थात् कोभिड १९ को सङ्क्रमणलाई समुदायमा फैलिन नदिन थप सचेत बन्न बिज्ञ एवं डाक्टरहरुले सुझाव दिएका छन् । नेपालमा शनिबार थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि दोस्रो चरणमा पुगेको र अब समुदाय–समुदायमा रोग फैलन नदिनेतर्फ गम्भीर बन्नुपर्ने अवस्था आएको डाक्टरले बताएका हुन् । साथै डाक्टरहरुले सङ्क्रमणको अर्काे चरणको कल्पना नेै नगरि सुरक्षाका सबै उपायहरु अपनाउन पनि आग्रह गरेका छन् ।

सरुवा रोग विशेषज्ञ डाक्टर बाबुराम मरासिनीले सङ्क्रमण समुदायमा थप फैलिने जोखिम बढेको भन्दै सङ्क्रमणलाई रोक्न सचेतना अपनाउनुपर्ने बताउनुभयो ।उहाँले सङ्क्रमणको अबको अवस्था अनुमान गर्न नसकिने भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो । कोरोना सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै नियन्त्रण र रोकथामको चुनौती थपिएको मरासिनीको भनाइ छ । व्यक्ति, परिवार र पालिका चनाखो भए सङ्क्रमण नफैलिने भन्दै उहाँले सबैले सचेतना अपनाउनुपर्ने बताउनुभयो । सरकारले पनि अहिलेको अवस्थालाई गम्भीर रुपमा लिएर रोग फैलिन नदिन व्यवस्थापनलाई बढी ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

डाक्टर मरासिनीले विदेशबाट आएकाहरुको स्वास्थ्य जाँच, क्वरेण्टीनमा बसेको वा नबसेको निगरानी, उनीहरुले भेटघाट गरेका व्यक्तिको अवस्था, पालिकाबाट निगरानी, सम्भव भएसम्म सुरक्षाका उपाय अपनाएर महिला स्वयंसेविका परिचालन गरी घरघरमा सचेतना बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले क्वरेण्टीनमा बसेकाहरुले पनि आवश्यक सतर्कताका उपायहरु अपनाउनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले रोग फैलिन नदिन होम क्वरेण्टीनको विकल्प नभएको बताउनुभयो । उहाँले भारत तथा विदेशबाट आएकाहरु क्वरेण्टीनमा बसेको वा नबसेको बारे निगरानी गर्न पालिकालाई भनिएको पनि जानकारी दिनुभयो । महानिर्देशक श्रेष्ठले अहिले छिमेकी देश भारतबाट जोखिम मोलेर नेपाल नआउन पनि आग्रह गर्नुभएको छ । लकडाउनको पूर्ण रुपमा पालना गर्ने र सतर्कता नअपनाए कोरोना सङ्क्रमण बढ्न सक्नेतर्फ सचेत रहन पनि उहाँको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू