अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

प्रधानमन्त्रीसित एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका नेताहरूको भेट

बिआरटीनेपाल २०८१ वैशाख २७ गते ६:५६ मा प्रकाशित

नेकपा ९एकीकृत समाजवादी०का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अर्को सरकार बन्ने निश्चित नभएसम्म वर्तमान सरकारलाई निरन्तरता दिने पक्षमा पार्टी रहेको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गरेपछि सञ्चारकर्मीसँग उहाँले यस्तो बताउनुभएको हो ।

सरकार छोड्ने वा रहने बारेमा सञ्चारकर्मीले गरेको प्रश्नको जवाफमा उहाँले ‘छानाबाट अर्को घरमा हामफाल्दा अर्को छानामा पुग्ने भएपछि मात्र हामफाल्ने’ प्रतिक्रिया दिनुभयो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू बिहीबार प्रधानमन्त्रीलाई भेट्न उक्त कार्यालयमा पुगेका थिए । “हामीले गत वर्ष अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट जुन पेस गर्नुभएको थियो, बजेटका सन्दर्भमा अत्यन्त अनुपयुक्त रह्यो, बजेट निर्माणमा सांसदहरूलाई छलफल गराइएन, सांसदहरूको भूमिका भएन, सांसदको टाउको गनेर बजेट पास हुने अनि सांसदलाई बजेट निर्माणमा सहभागी नगराउने कुरा हुन सक्दैन भनेर हामीले बोलेका थियौँ,” उहाँले भन्नुभयो, “हामीले राखेकै कुरा सम्बोधन गरेर प्रधानमन्त्रीले आउँदो वर्षमा यो कुरामा परिवर्तन गर्छु भन्नुभएको थियो । बजेट आउने बेला भइसक्यो, जेठ १५ मा बजेट घोषणा हुन्छ, बजेट बन्न पनि थालिसक्यो । त्यसैले हिजो भनेको कुरा बिर्सिनुभएको हो कि भनेर सम्झाउन आएका हौँ ।”

तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पेस गर्दा त्यो निर्माणका क्रममा सांसदहरूलाई छलफल नगराइएको भन्दै विरोध जनाइएको थियो । विरोधपछि प्रधानमन्त्री प्रचण्डले आउँदो आर्थिक वर्षमा सांसदहरूलाई समावेश गरेर बजेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तर, नयाँ बजेट पेस गर्ने दिन नजिक आइसक्दा समेत सांसदहरूलाई बोलाएर छलफल नगराइएको भन्दै एकीकृत समाजवादीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू