अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

माओवादी बैठकमा प्रधानमन्त्रीको ‘ब्रिफिङ’– छिटै सर्वदलीय बैठक

बिआरटीनेपाल २०८१ वैशाख २२ गते ६:४६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका नीति तथा कार्यक्रमबाट पाठ सिक्दै आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको छ । सिंहदरबारमा शनिबार बसेको नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा उक्त पार्टीका अध्यक्ष समेत रहेका प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्यायको विषय सरकारले सुरुदेखि नै उठाएको र त्यसलाई मध्यनजर गर्दै कार्यक्रम र बजेट ल्याइने बताउनुभयो ।

राष्ट्रियस्तरका सूचकमा पछाडि परेका समुदायलाई माथि उठाउने र उत्पादन, उत्पादकत्वमा वृद्धिका साथै रोजगारी बढाउनका निम्ति आवश्यक सुझाव दिन उहाँले आग्रह गरेको बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । संसद्को बजेट अधिवेशनमा सक्रिय भएर भूमिका निर्वाह गर्न अध्यक्ष प्रचण्डले सांसदहरूलाई निर्देशन दिनुभएको थियो । उहाँले यसअघि संसद्‌मा देखिएको अवरोध हटाउने विषयमा पनि दलहरूबीच निरन्तर छलफल भइरहेको उल्लेख गर्नुभयो । त्यसबारे छिटै सर्वदलीय बैठक बस्ने प्रधानमन्त्रीले जानकारी गराएको प्रमुख सचेतक पाण्डेले बताउनुभयो ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रमका साथै बजेटको तयारीका बारेमा जानकारी गराउनुभएको थियो । बजेट निर्माणमा सहयोगी भूमिका खेल्न त्यसक्रममा माओवादी सांसदहरूलाई निर्देशन दिइएको पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू