अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

नेपाल भ्रमणमा रहेका भारतका प्रधानन्यायाधीश चन्द्राच्युड भेटवार्तामा व्यस्त

बिआरटीनेपाल २०८१ वैशाख २२ गते ५:५४ मा प्रकाशित

नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका भारतका प्रधानन्यायाधीश डा.डीवाई चन्द्राच्युड आज विभिन्न कार्यक्रम र भेटवार्तामा व्यस्त रहनुभएको छ । उहाँले आज केन्द्रीय बाल न्याय समितिले आयोजना गरेको ‘बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सम्बोधन’ गर्ने मुख्य कार्यक्रम रहेको छ ।

त्यस्तै बेलुका नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र उहाँबीच मैत्रीपूर्ण भेटवार्ता हुनेछ । यो भ्रमणका बेला नेपाल र भारतको न्यायीक क्षेत्रबीच एउटा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । त्यस्तो समझदारी गर्नका लागि सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार वा रजिस्ट्रारलाई स्वीकृति दिने निर्णय अस्ति बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।

प्रधानन्यायाधीश श्रेष्ठले उहाँको सम्मानमा रात्रिभोजको आयोजना समेत गर्नुभएको छ । प्रधान न्यायाधीश श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश चन्द्राच्युड हिजो नेपालको तीन दिने औपचारिक भ्रमणका लागि काठमाण्डौ आउनुभएको हो । पदमा रहँदै भारतका प्रधान न्यायाधीश नेपाल आएको यो पहिलो पटक रहेको ठानिएको छ ।

भारतका प्रधानन्यायाधीशसहित उहाँकी धर्मपत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोट मास्टर चेतन अरोरा रहनुभएको छ । यो उच्चस्तरीय भ्रमण दल भोलि बेलुका स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू