अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२० | Colorodo: 02:35

सरकारले अपांगता भएका व्यक्तिहरूसँगको सम्झौता कार्यान्वयन नगरेको भन्दै आन्दोलन सुरू

बिआरटीनेपाल २०८१ वैशाख २७ गते ६:२४ मा प्रकाशित

सरकारसँगको सम्झौता कार्यान्वयन नभएपछि दीपक भण्डारी अनसनमा बस्नुभएको छ । शरीरिक रूपमा अपांगता भएका उहाँ वैशाख १८ गतेदेखि रत्नपार्क शान्तिवाटिका पार्कमा अनसन बस्नुभएको हो । अपांगता भएका व्यक्तिहरूको समूह र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग चैत १४ गते सम्झौता भएको थियो।

भण्डारीका अनुसार स्पाइनल कर्डको अपांगता भएका व्यक्तिलाई व्यक्तिगत वृत्ति, सहायक सामग्री र सामाजिक सहयोगको व्यवस्था गरिदिने सम्झौता भएको छ। उक्त सम्झौता एक महिनाभित्र कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो। तर हालसम्म कुनै पनि प्रक्रिया अगाडि नबढाएपछि अनसन बस्न बाध्य भएको उहाँले जानकारी दिनुभयो ।

‘अपांगता भएका व्यक्तिलाई जे भने पनि हुन्छ भनेर झुलाइयो’ , उहाँले भन्नुभयो, ‘यिनीहरूले केही गर्न सक्दैनन् भनेर हेप्ने र बेवास्ता गर्ने काम भयो’। अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ र नियमावली २०७७ को पूर्ण कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरूको समूह धेरै पटक मन्त्रालय पुगेको थियो।

पटक–पटक धर्ना, मन्त्रालयमा माग प्रस्तुत गर्दासम्म बेवास्ता गरेपछि गत चैत ६ गतेदेखि शान्तिवाटिका पार्कमा आन्दोलन र धर्ना सुरू गरेका थिए। चैत्र १४ गते जारी धर्ना स्थगित गराउन महिला मन्त्रालयका सह-सचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा ३ सदस्यीय समिति बनाइएको थियो। समितिले एक महिनाभित्रै ऐनले दिएको सेवा-सुविधा कार्यान्वयनमा ल्याइने बताएको थियो। सोही अनुसार प्रक्रिया अगाडि बढेको छ कि छैन भनेर बुझ्न पटक-पटक मन्त्रालय पुगेको अनसनरत भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू