अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३२ | Colorodo: 17:47

इरानले इजरायलमाथि गरेको आक्रमणप्रति अमेरिका र उसका सहयोगी देशद्वारा निन्दा

बिआरटीनेपाल २०८१ वैशाख २ गते ८:३१ मा प्रकाशित

इरानले गए राति इजरायलमाथि गरेको आक्रमणको पश्चिमा देशले निन्दा गर्दै त्यो आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने चिन्ता प्रकट गरेका छन् ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले इरानले इजरायलमाथि गरेको आक्रमणको निन्दा गर्दै यसले गम्भीर तनाव निम्त्याएको बताउनुभएको छ । मध्यपूर्वमा ठूलो सैन्य मुठभेड निम्तन सक्ने कुनै पनि कार्यबाट जोगिन उहाँले सबै पक्षलाई आह्वान गर्नुभएको छ ।

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले उच्च सुरक्षा अधिकारीहरूसँगको आपत्कालीन बैठकपछि इजरायललाई समर्थन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । इरान र उसका सहयोगीहरूको खतराविरुद्ध इजरायलको सुरक्षाका लागि अमेरिकाको प्रतिबद्धता बाइडेनले दोहोर्‍याउनुभएको छ । तर इजरायलले अहिल्यै इरानमा आक्रमण गरेमा अमेरिका सहभागी नहुने उहाँले बताउनुभएको छ ।

फ्रान्स, जर्मनी, बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया लगायतका अमेरिकाका सहयोगीले इरानको आक्रमणको विरोध गरेका छन् । यस्तै चीनको विदेश मन्त्रालयले आक्रमणलाई ‘गाजा द्वन्द्व’ को पछिल्लो बाछिटाको रूपमा चित्रण गर्दै संयमित हुन आग्रह गरेको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन, हिंसाबाट जोगिन र कुटनीतिक वार्तामा फर्कन आग्रह गर्दै तत्काल तनाव कम गर्न आह्वान गरेको छ । साउदी अरेबियाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी ‘सैन्य गतिविधि वृद्धि’ प्रति चिन्ता व्यक्त गरेको छ ।

गएको अप्रिल १ मा सिरियाकाे दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले क्षेप्यास्त्र आक्रमण गरेर दुई जना इरानी कमाण्डरसहित १३ जनाको हत्या गरेपछि त्यसको बदलामा इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हो । इजरायली सेनाले भने इरानले प्रहार गरेको तीन सय वटाभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन आकासबाटै खसालेको दाबी गरेको छ । इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले इरानले प्रहार गरेको केही क्षेप्यास्त्र मात्र इजरायलसम्म पुगेका बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू