अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३४ | Colorodo: 11:49

इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको झडपमा ५ सुरक्षाकर्मी र ८ बन्दुकधारीकाे ज्यान गयाे

बिआरटीनेपाल २०८० चैत २२ गते ८:१२ मा प्रकाशित

दक्षिणपूर्वी इरानको दुई छुट्टाछुट्टै ठाउँमा सुरक्षा बल प्रहरी र बन्दुकधारीबीच झडप भएको छ । सिस्तान र बलुचिस्तान प्रान्तमा भएको झडपमा इरानी सुरक्षा बलमा पाँच जना सदस्य र आठ जना बन्दुकधारीको ज्यान गएको समाचार संस्था एपीले जनाएको छ । इरानको आईआरएनए समाचार एजेन्सीले झडपमा इरानी सुरक्षा बलका अन्य १० जना सदस्य घाइते भएका बताएको खबरमा उल्लेख छ ।

बन्धुकधारीले इरानको राजधानी तेहरानदेखि झन्डै एक हजार चार सय किलोमिटर पर दक्षिण–पूर्वमा रहेको रस्क शहरमा एक रिभोल्युशनरी गार्ड पोस्ट र चाहबहार शहरमा एक तटरक्षक स्टेशनमा गोलीबारी गरेपछि दुई समूहबीच झडप भएको थियो ।

अतिवादी सुन्नी मुस्लिम लडाकु समूह ‘जैश अल–अदल’ ले शिया मुस्लिमको बाहुल्य रहेको इरानमा अल्पसङ्ख्यक ‘बलुचिस’ को अधिकार र राम्रो जीवन स्थितिको माग गरेको बताउँदै आएको छ । यो समूहले दक्षिणपूर्वी प्रान्तमा इरानी सुरक्षा बलमाथि पछिल्ला वर्षयता भइरहेका आक्रमणको जिम्मा लिएको छ । यो समूहले गएको डिसेम्बरको रस्क शहरको एक प्रहरी चौकीमा आक्रमण गर्दा ११ जना सुरक्षाकर्मीको ज्यान जानुका साथै केही घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू